बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न आदेश, प्रहरी भन्छ- फरार

काठमाडाैँ, २ माघ । भक्तपुर जिल्ला अदालतले बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न आदेश दिएको छ ।
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीको मानहानीको मुद्दामा अदालतले प्रसाईंलाई पक्राउ गर्न आदेश दिएको हाे ।
झापास्थित ‘बी एण्ड सी अस्पताल’का सञ्चालक रहेका प्रसाईंले केही दिनअघि गिरीले २० करोड घुस मागेको आरोप लगाएका थिए । साे आरोपपछि गिरीले आफ्नाे मानहानि भएकाे भन्दै जिल्ला अदालत भक्तपुरमा प्रसाईंविरूद्ध मुद्दा दायर गरेका थिए ।
प्रस्तावित बि एण्ड सी मेडिकल कलेजलाइ सम्बन्धन दिनका लागि घुस मागेकाे भनी आफूलाई बदनाम गर्ने नियतले उक्त आरोप लगाइएको गिरीले बताउँदै आएका छन् ।
भक्तपुर जिल्ला अदालतको आदेश लगत्तै पक्राउ गर्न प्रहरी भक्तपुरस्थित उनको निवासमा पुगेकाे थियाे । तर उनी नभेटिएपछि ‘फरार’ रहेको प्रहरीले जनाएको छ ।
दुर्गा प्रसाईं तिनै व्यक्ति हुन्, जो केही समयअघिसम्म ‘मार्सी चामल’को भातका कारण चर्चामा थिए । उनले आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिलाउन प्रभाव पार्ने उद्देश्यले नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र अध्यक्ष प्रचण्डलाई आफ्नो निवासमा भोज दिएको भनी आलोचना हुँदै आएको थियो । उच्च राजनीतिक पहुँच भएका उनी पटकपटक विवादास्पद अभिव्यक्ति र गतिविधिका कारण चर्चामा आउने गरेका छन् ।
न्युज२४ बाट साभार गरिएकाे
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता