इलाममा दलित जनप्रतिनिधिहरुको प्रदेश भेला हुँदै, दलित आन्दोलन कमजोर बनेकोप्रति सरोकारवालाहरु चिन्तित

इलाम, १६ पुसः इलाम सदरमुकाममा आगामी माघ २४ र २५ गतेका दिन १ नं. प्रदेशभरका दलित जनप्रतिनिधिहरुको भेला आयोजना गरिने भएको छ । इलाम जिल्लास्थित विभिन्न कार्यालय तथा संघ, संस्थाहरुमा आबद्ध दलित अगुवाहरुको आज सम्पन्न भेलाले दलित जनप्रतिनिधिहरुको प्रदेश भेला आयोजना गर्ने निर्णय गरेको हो । 
भेलाको आयोजना इलाममा रहेका दलित समुदायका संघ, संस्थाहरुले सामूहिक रुपमा गर्न लागेको उत्पीडित जातीय अधिकार मंच (रिफोक), इलामका अध्यक्ष नवराज शंकरले बताए । प्रदेश भेलाले दलित जनप्रतिनिधिले हालसम्म सम्पादन गरेका कामहरुको बारेमा समिक्षा गर्दै उनीहरुलाई थप क्षमता अभिबृद्धि एवं मार्गदर्शन गर्ने उनले बताए । “दलित आन्दोलन सत्तापक्षीय बन्दैछ, जसले गर्दा सिथिल पनि बन्दैछ” उनले भने– “मुलुककै ध्यान केन्द्रीत गर्नेगरी र राज्यलाई झकझक्याउने गरी यो भेलाको आयोजना गर्दैछौं ।” दलित जनप्रतिनिधिहरुको प्रदेश भेलामा १ नं। प्रदेश बाहेकका सबै प्रदेशहरु र छिमेकी मुलुक भारत र भूटानका दलित अधिकारकर्मीहरुलाई समेत आमन्त्रितको रुपमा सहभागि गराईने उनले बताए । प्रदेशस्तरको भेलाको तयारी सन्दर्भमा यही पौष २६ गते शनिबारको दिन इलाम जिल्लास्तरको दलित जनप्रतिनिधिहरुको प्रतिनिधिमूलक भेला आयोजना गरिने मानव अधिकार मंच नेपाल इलामका सचिव एवं अधिवक्ता देवेन्द्र विश्वकर्माले बताए । 
दलित जनप्रतिनिधिहरुको १ नं. प्रदेश भेलाको आयोजना उत्पीडित जातीय अधिकार मंच (रिफोक) इलाम, समाजसेवी काले दमाई स्मृति प्रतिष्ठान इलाम, मानव अधिकार मञ्च नेपाल, दलित महिला संघ (फेडो) इलाम, सुनचाँदी व्यवसायी संघ इलाम र नेपाल कपडा तथा सिलाई व्यवसायी संघ इलामले संयुक्त रुपमा गर्ने दलित अधिकारकर्मी प्रकाश परियारले बताए । कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्नको लागि राष्ट्रिय एवं प्रदेशस्तरका दलित संघ, संस्थाहरुलाई समेत आयोजक एवं साझेदारको रुपमा जोडेर अगाडि बढाइनेछ । 
जिल्लास्थित सरोकारवालाहरुको भेलामा दलित अगुवाहरु नवराज शंकर, देवेन्द्र विश्वकर्मा, प्रकाश परियार, सानु दास, बसन्ती घतानी, श्रीबहादुर सिवा, देवेन्द्र शंकर, सुमन दास, सुमन दियाली, योगन्द्र शंकर, बलराम बराईली लगायतका सरोकारवालाहरुले आ–आफ्नो धारणा राखेका थिए । 
दलित आन्दोलन कमजोर बनेकोप्रति सरोकारवालाहरु चिन्तित 
देशकै दलित आन्दोलन कमजोर स्थितिमा पुगेको भन्दै दलित अधिकारकर्मीहरुले चिन्ता व्यक्त गरेका छन् । कमजोर बनेको दलित आन्दोलनलाई सशक्त बनाएर दलित समुदायको सवाङ्गिण विकासमा सबै पक्ष एकजुट भएर लाग्नुपर्ने उनीहरुले बताएका छन् । 
दलित आन्दोलन सत्ता पक्षीय बनेको कारण संविधान र कानूनले दिएको अधिकार समेत कार्यान्वयन नभएको र कतिपय अधिकारहरु कटौती हुन थालेको दलित अधिकारकर्मी नवराज शंकरले बताए । “दलित आन्दोलन साँच्चिकै कमजोर अवस्थामा पगेको देखिन्छ ।” उनले भने– “यसलाई पुनर्जिवन दिन सबैको पहल कदमी जरुरी छ ।” यसैगरी मानव अधिकारकर्मी एवं अधिवक्ता देवेन्द्र विश्वकर्माले सबै हिसाबले दलित समुदायको स्तरलाई माथि उठाउन सबै मिलेर लाग्नुपर्ने बताए । “दलित समुदायको अधिकारको सवाल मानव अधिकारको सवाल हो” विश्वकर्माले भने– “दलितको सवाल दलितको मात्र नभएर राज्यको सरोकार हुनुपर्छ, सबैको सरोकार हुनुपर्छ ।”
अहिलेको अवस्थामा दलित आन्दोलन जिवित छ भनौ भने शुन्यतामा पुगेको र मृत छ भने सास गइनसकेको समाजसेवी काले दमाई स्मृति प्रतिष्ठान इलामका सचिव एवं दलित अधिकारकर्मी प्रकाश परियारले बताए । “हिँजोका दिनमा स्रोध, साधनको अभावमा दलित आन्दोलन उचाईंमा थियो” उनले भने– “आज स्रोत, साधनको खासै अभाव छैन तर दलित आन्दोलन कमजोर बनेको छ ।” यसैगरी इलाम नगरपालिका नगर कार्यपालिका सदस्य सानु दासले निर्वाचित दलित जनप्रतिनिधिहरुकै क्षमता अभिबृद्धिमा जोड दिनुपर्ने बताइन् । कानूनले राज्यका निकायहरुमा संख्यात्मक उपस्थितिको लागि बाटो खुला गरेका भएपनि त्यसलाई गुणात्मक बनाउन जोड दिनुपर्ने बताइन् । 
दलित समुदायले संचालन गरेका पेशाको आधुनिकीकरणमा जोड दिनुपर्ने सुनचाँदी व्यवसायी संघ इलामका अध्यक्ष देवेन्द्र शंकरले बताए । दलित समुदायको स्तरलाई माथि उठाउनको लागि दलित नागरिकहरुलाई कुनै न कुनै पेशा, उत्पादनसँग जोड्नुपर्ने भन्दै अध्यक्ष शंकरले यसका लागि पेशाामा आबद्ध दलित समुदायका मानिसहरुको सुरक्षामा ध्यान दिनुपर्ने बताए । यसैगरी नेपाल दलित संघ इलामका कार्यबाहक अध्यक्ष सुमन दासले दलित समुदायको आर्थिकस्तरलाई माथि उठाउने किसिमका कार्यक्रमहरुमा जोड दिनुपर्ने बताए । 
भेलामा उपस्थित सरोकारवालाहरुले इलाम जिल्लाको हकमा दलित समुदायको सबैखाले समस्याहरुलाई हल गर्नको लागि एकजुट भएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता