इलाममा २ दिने ‘दक्षिण एसियाली दलित मिट-२०७६’ शुरु

इलाम, २४ माघ । इलाममा दलित जनप्रतिनिधिको प्रदेश नम्बर १ स्तरीय भेला तथा ‘दक्षिण एसियाली दलित मिट-२०७६’ आज (शुक्रबार)बाट शुरु भएको छ ।
जिल्लामा रहेका सबै दलितसँग सम्बन्धित संघ-संस्थाले कार्यक्रमको आयोजना गरेका हुन् । प्रदेश नं.२ का प्रदेश प्रमुख तिलक परियारले उद्घाटन गरेको उक्त भेला इलाम सदरमुकाममा माघ २४ र २५ गतेसम्म हुनेछ ।
शुक्रबार दिउसो ११ बजे टुँडिखेलबाट -यालीसहित गौतमबुद्ध सभागृहमा आएर उद्घाटन गरिएको मुल आयोजक समितिका संयोजक नवराज शंकरले जानकारी दिनुभयो । उहाँका अनुसार भेलामा देशभरका ४ सय दलित जनप्रतिनिधिहरु सहभागी भएका छन् ।
दलित समुदायका संघीय सांसद, प्रदेश सांसद, जिल्ला समन्वय समितिका प्रमुख–उपप्रमुख, सदस्य, स्थानीय तहका प्रमुख-उपप्रमुख तथा अध्यक्ष र कार्यपालिका सदस्यहरू भेलामा सहभागी भएका छन् ।
दुई दिनसम्म चल्ने यस भेलामा दलित प्रतिनिधिहरुले पाएको अवसर र चुनौतिका विषयमा ब्यापक छलफल गरिनेछ ।
भेलाको पहिलो दिन संविधान र कानून निर्माणमा दलितका सवालबारे पूर्व सभामुख सुवासचन्द्र नेम्बाङ्गसँग अन्तरक्रिया समेत गरिएको छ ।
त्यस्तै दोस्रो दिन १४ जिल्लाका समिक्षासहित अनुभव (रिपोर्टिङ्ग), नेपालमा जातपात र छुवाछूतबारे अन्तरक्रिया, नेपालको दलित आन्दोलन, वर्तमान र भविष्य सम्बन्धी अन्तरक्रिया, दलित समुदायको समस्या र राज्य बिषयक छलफल हुनेछ ।
कार्यक्रममा छबिलाल विश्वकर्मा, सांसद मिन विश्वकर्मा, विनोद पहाडी लगायतको उपस्थिति रहनेछ । यस कार्यक्रमले दलितको आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा लिइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता