माइभ्याली गोल्डकप : उपाधिका लागि मच्छिन्द्रलाई आयोजकको चुनौती

इलाम, २३ फागुन । इलामको ठूलो टुँडिखेलमा जारी छैटौं संस्करणको माइभ्याली गोल्डकपको भोलि हुने फाइनल खेलमा आयोजक माइभ्याली फुटबल क्लब र मच्छिन्द्र क्लब काठमाडौं आम्नेसम्ने हुने भएका छन् ।
मोफसलको फुटबलमा राम्रो अनुभव बोटुलेको आयोजकसँग विभिन्न क्लबबाट शहीद स्मारक लिग खेल्ने खेलाडीहरु पनि छन् । राष्ट्रिय खेलाडीहरुले भरिभराउ रहेको मच्छिन्द्र भने भर्खरै सम्पन्न शहीद स्मारक लिगको विजेता टिम हो ।
माइभ्याली गोल्डकपमा आयोजक पहिलो पटक फाइनलमा पुगेको हो । आयोजकले पहिलो चरणमा भारत सिक्किमको ग्यान्टोक सिटी फुटबल क्लबलाई दुई शून्यले हराउँदै क्वाटर फाइनलमा प्रवेश गरेको थियो ।
क्वाटरफाइनलमा भारतकै अर्को टिम महोमोडन स्पोटिङ क्लब कोलकोत्तालाई तीन शून्यको फराकिलो जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको थियो ।
सेमिफाइनलमा विभागीय टोली त्रिभूवन आर्मीसँग एक–एकको बराबरी खेलेको आयोजकले सर्डन डेथमा जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो ।
मच्छिन्द्र क्लब भने आफ्नो पहिलो खेलमा गोर्खा ब्वाइजसँग निर्धारित समय र थप समयमा पनि बराबार खेलेपछि ट्राई ब्रेकरमा जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको थियो ।
सेमिफाइनलमा पाहुना टोली भारतको एमएफसीलाई तीन शून्यले हराउँदै फाइनलको यात्रा तय गरेको हो । भोलि हुने खेलको बारेमा पत्रकारहरुसँग दुवै टिमका खेल प्रशिक्षक र टिम कप्तानले दर्शकहरुको लागि राम्रो खेल पस्कने बताएका छन् ।
मच्छिन्द्रका टिम खेल प्रशिक्षक प्रवेश कटुवालले प्रतिस्पर्धी टिमको खेल हेरेर खेलको रणनीति तय गर्ने बताए । उनले होम क्राउडको आयोजकलाई सपोर्ट भए पनि आफ्नो टिमले राम्रो प्रदर्शन गर्ने पनि बताए ।
प्रतियोगितामा सबै खेलाडीको प्रदर्शनबाट खुसी रहेको र भोलि हुने खेल जितेर उपाधि आफ्नो नाममा गर्ने मच्छिन्द्रका कप्तान विराज महर्जनले बताए ।
आयोजकका प्रशिक्षक दर्शन भक्तराजले आफ्नो टिमलाई कुनै प्रेसर नभएको र आफूहरुलाई होम क्राउड सपोर्ट रहेको पनि बताए ।
विजेताले आठ लाख नगद र ट्रफी पाउनेछ । त्यस्तै, उपविजेताले ६ लाख नगद पाउनेछ, भने प्रत्येक खेलको म्यान अफ द म्याच र म्यान अफ द टुर्नामेन्टले पनि पुरस्कार पाउने आयोजकले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता