कोरोना त्रास : सुस्तायो झापाको व्यापार, किनमेल गर्ने आउनै छाडे

झापा, ४ चैत । विश्वमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको असर झापाको बजार, व्यापार तथा व्यवसाय समेत देखिन थालेको छ ।
कोरोनाको संक्रमण छिमेकी राष्ट्र भारतमा फैलिएसँगै सीमावर्ती जिल्ला झापाका बिभिन्न क्षेत्रमा प्रभाव परेको हो ।
मुख्य बजारहरु चहलपहलविहीन
विश्वव्यापीरुपमा फैलिदै गएको कोरोना भाईरसको जोखिममा नेपाल समेत परेपछि सिमावर्ती जिल्ला झापाको व्यापार तथा व्यवसाय सुस्ताउँदै गएको छ । झापाका मुख्य बजारहरुमा चहलपहल कम हुन थालेको छ ।
आन्तरिक तथा बाह्य पर्यटकको संख्या ह्वातै घटेको छ । बजारमा उपभोक्ता घट्दा सबै क्षेत्रमा आर्थिक कारोबार सुस्ताउदै गएको व्यापारीहरु बताउँछन् । ‘कोरोनाको हल्लाले मान्छे आउन छाडे’ बिर्तामोडका कपडा व्यापारी हेमन्त अग्रवालले भने, ‘तीनदिन जति भयो व्यापार ठप्पै छ ।’
बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईका अनुसार कोरोना चेकजाँचको कडाईले नाकामा पनि सामान ल्याउन समस्या छ ।
‘त्रासले मानिसहरु गाउँघरबाट किनेमेल गर्न पनि आउनै छाडेका छन् ।’ उनले भने, ‘समग्रमा बिर्तामोडको व्यापार, व्यवसाय ५० प्रतिशतले खच्केको छ ।’
‘होटलको किस्ता र ब्याज नै तिर्न नसकिने भो’
बजारमा मानिसहरुको चहलपहल घटेपछि त्यसको प्रभाव होटल व्यवसायमा समेत परेको छ । करोडाँै लगानी गरेर खुलेका जिल्लाका होटल तथा लजहरु पनि अहिले सुनसान जस्तै छन् ।
सरकारले कारोनाको संक्रमणबाट बच्न होसियारी अपनाउदै सभा, सम्मेलन तथा छलफल र गोष्ठीहरु नगर्न भनेपछि यसको असर होटल व्यवसायमा परेको हो । कोरोना त्रास फैलिएपछि होटलहरु मानिस आउन छाडेको र कर्मचारीलाई समेत बिदा दिन थालिएको व्यवसायीको भनाइ छ ।
‘होटल नचलेर धेरैजसोले कर्मचारी कटौती गर्न थालेका छन्’ होटल व्यवसायी संघ झापाका अध्यक्ष भोला उपे्रतीले भने, ‘होटलको किस्ता र ब्याज नै तिर्न पनि कठिनाई हुने देखिएको छ ।’
बजारमा अभावसँगै कालोबजारी पनि सुरु
कोरोना संक्रमण भारतमा समेत फैलिएपछि नाकाको कडाईले सीमावर्ती झापामा कतिपय अत्यावश्यक सामग्रीको कालोबजारी तथा अभाव भइरहेको छ । खासगरी खाना पकाउने एलपी ग्यास सहज रुपमा उपलब्ध छैन ।
स्थानीय प्रशासनले प्रभावकारी अनुगमन नगर्दा कालोबजारी र अभाव बढेको स्थानीयले बताएका छन् । त्यस्तो कृत्रिम अभाव रोक्न प्रशासनले अनुगमन सुरु गरिसकेको झापाका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताए ।
सीमामा ओहोरदोहोर गर्ने पनि घटे
कोरोनाका त्रासका कारण झापाका सीमा नाकाहरु काँकडभिट्टा, भद्रपुर, टाघनडुब्बा, गौरीगञ्ज र भद्रपुर विमानस्थलमा ‘कारोना भाइरस परामर्श तथा प्राथमिक परीक्षण कक्ष’ स्थापना गरेर भारतलगायत तेस्रो मुलुकबाट आउनेहरुको स्वास्थ्य परीक्षण गरिदैछ ।

ती नाकाहरुमा समेत ओहोरदोहोर गर्नेको संख्यामा उल्लेखीय कमी आएको बताइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता