फ्रान्सबाट आएकी काेराेना संक्रमित युवती स्वस्थ भइन्, टेकु अस्पतालबाट डिस्चार्ज

  • रिया भण्डारी
काठमाडौं, ६ बैशाख । फ्रान्सबाट कोरोना भाइरसद्वारा संक्रमित भएर नेपाल आएकी युवती पूर्णरुपमा स्वस्थ भएकी छिन् । उनलाई केही बेरअघि उपचाररत टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले डिस्चार्ज गरेको छ ।
स्वस्थ भएर अस्पतालबाट घर फर्कनुअघि  कुराकानी गर्दै ती युवतीले संक्रमण भएपछि नहडबडाउन र नआत्तिन आग्रह गरेकी छिन् । आत्मविश्वास र दृढ इच्छाशक्तिले नै कोरोना भाइरसमाथि विजय पाउन सम्भव हुने बताउँदै उनले आफ्नो उपचारमा सहयोग गर्नुहुने सबै चिकित्सक र स्वास्थ्कर्मी एवं अस्पताल प्रशासनप्रति आभार व्यक्त गरेकी छिन् ।
गत चैत ४ गते फ्रान्सबाट नेपाल आएकी १९ वर्षीया यी युवती गत चैत १० गते टेकु अस्पताल भर्ना भएकी थिइन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएदेखि नै आफूलाई निकै सचेत र सजग राखेकी यिनले घरमा पनि पूर्णत: क्वारेन्टाइनको अनुशासन निर्वाह गरेकी थिइन् । पछि टेकु अस्पतालमा स्वाब परीक्षण गर्दा संक्रमण देखिएलगत्तै अस्पतालमा नै बसेर उपचार गराउँदै आएकी थिइन् ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा वार्डमा उपचार गराएकी यिनी नेपाल आएपछि संक्रमण भएको पत्तो लाग्नासाथ नै सरकारले अन्तर्राष्ट्रिय उडान नेपालमा बन्द गर्ने निर्णय गरेको थियो ।
संक्रमितमध्ये उपचारपछि निको भएकी यिनी दोस्रो नेपाली हुन् । यसअघि कोरोना भाइरसको उद्गम स्थल चीनको वुहानबाट आएका एक संक्रमित युवक उतिवेलै निको भएर घर गइसकेका थिए । यो काेराेना विरूद्ध नेपाली चिकित्सकहरुको लागि दोस्रो सफलता हो ।
अहिले टेकु अस्पतालमा धादिङका संक्रमित युवा उपचाररत छन् । पछिल्लो समय नेपालमा काेराेना संक्रमितको संख्या ३० पुगेकाे छ । यीमध्ये पूर्णरूपमा निकाे हुनेकाे संख्या २ पुगेकाे हाे ।
न्युज२४नेपालबाट साभार गरिएकाे
यो भिडियो पनि हेर्नुहोस् :
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता