झापाको बाह्रदशी गाउँपालिका सिल गरेर ‘कन्ट्रयाक्ट ट्रेसिङ’ सुरु, दमकमा दुईको आरडीटी पोजिटिभ

झापा, १५ बैशाख । झापाको बाह्रदशी गाउँपालिका–४ का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएसँगै गाउँपालिका नै सिल गरेर ‘कन्ट्रयाक्ट ट्रेसिङ’को काम थालिएको छ ।
भारतको दिल्लीमा सम्पन्न मुस्लिमको धार्मिक सभाब तब्लिगी जमातबाट फर्किएका ५० बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएसँगै गाउँपालिकाले थप उच्च सर्तकता अपनाउँदै गाउँपालिका सिल गरेको हो ।
गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीको अध्यक्षतामा आज बसेको बैठकले गाउँपालिकालाई शिल (आवतजावत गर्न निषेध) गर्ने निर्णय गरेको हो । संघीय सांसद राजेन्द्र लिङ्देनको समेत सहभागी रहेको वैठकले वडा नम्बर ४ पूर्णरुपमा सिल गर्ने निणय गरेको छ ।
त्यस्तै, वडा नम्बर ३ र ५ का केही भूभाग समेत सिल गरिएको छ । गाउँपालिकाको पूर्वतर्फ कञ्चनगढ, पश्चिममा विरिङ खोला, उत्तरमा पाख्रिवास र दक्षिणमा राधानगर (घाग्रा खोला)सम्मको चारकिल्ला भू–भाग सिल गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष राजवंशीले जानकारी दिनुभयो ।
‘हामीले संवेदनशील क्षेत्र सिल गरेर कन्ट्रयाक्ट ट्रेसिङको काम तीव्र पारेका छौँ’ अध्यक्ष राजवंशीले भन्नुभयो, ‘भोलि (मंगलबार) बिहानैदेखि परीक्षणको काम सुरु गछौँ ।’
परीक्षणका लागि संघ, प्रदेश र जिल्ला मातहतका स्वास्थ्यकर्मी गाउँपालिकामा खटिसकेका छन् ।
प्रहरी, जनप्रतिनिधि र स्वास्थ्यकर्मीको टोलीले आज दिनभर संक्रमितको बारेमा विस्तृत जानकारी लिनुका साथै सम्पर्कमा आएका व्यक्तिको पहिचान गरी परीक्षणको तयारी गरेको स्वास्थ्य कार्यालय झापाका महामारी फोकल पर्सन जीवन चाम्लागाईँले बताउनुभयो ।
‘आज कन्ट्रयाक्ट ट्रेसिङको काम भयो’ उहाँले भन्नुभयो, ‘भोलि पहिलो चरणमा संक्रमितको नजिकको सम्पर्कमा रहेका ३० जनाको आरडीटी परीक्षण गरी पीसीआरका लागि पठाउछौँ ।’
हाल संक्रमितको विराटनगरस्थित कोरोना अस्पतालमा उपचार भइरहेको छ । गाउँपालिकाको स्वास्थ्यकर्मीको टोलीले गरेको दुईपटकको आरडीटीमा उनको रिपोर्ट लगातार ‘नेगेटिभ’ आएको थियो । त्यसपछि भने उनी निर्वाधरुपमा बाहिर निस्किएको पाइएकाले समस्या भएको गाउँपालिकाका अध्यक्ष राजवंशीले बताउनुभयो ।
संक्रमित व्यक्ति स्थानीय मदरसाका गुरु हुन् । संक्रमित पुरुषको घर आसपास करिब एक सयभन्दा बढी मुस्लिम परिवारको बसोबास रहेको गाउँपालिकाले जनाएको छ ।
दमकमा परीक्षण तीव्र
झापाको दमक–३ का एक वृद्धमा कोरोना संक्रमण देखिएपछि नगरपालिकामा स्वास्थ्य परीक्षण तीव्र पारिएको छ । नगरपालिकाले आइतबार संक्रमित व्यक्ति बसोबास रहेको ३ नम्बर वडा सहित तीन वटा वडाका ७४ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।
परीक्षणका क्रममा दुई जनामा आरडीटीको रिपोर्ट पोजिटिभ देखिएको छ । उनीहरुसँगै संक्रमित क्षेत्रका ४४ जनाको पीसीआर परीक्षणका लागि थ्रोट स्वाब संकलन धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।
यो समाचार तयार पार्दासम्म पीसीआर रिपोर्ट आएको छैन । आज भने कसैको स्वास्थ्य परीक्षण गरिएको छैन । पीसीआर रिपोर्ट आएपछि मात्रै अन्यको स्वास्थ्य परीक्षण गरिने निर्णय भएको वडा नम्बर–३ का वडाध्यक्ष नविन बरालले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता