राहतमा कुहिएको दाल वितरण गर्ने ५ जना वडाध्यक्ष प्रहरीकाे नियन्त्रणमा


बारा, ९ बैशाख । कलैया उपमहानगरपालिकाका वडाहरूले कुहिएको दाल राहतमा वितरण गरेको भन्दै जिल्ला प्रहरी कार्यालय, बाराले ५ जना वडाध्यक्षलाई नियन्त्रणमा लिएको छ ।
यसरी नियन्त्रणमा रहेकाहरुमा वडा नं. १ का वडाध्यक्ष हरिओम साह, वडा नं. ७ का वडाध्यक्ष सफिल्लाह अन्सारी, वडा नं. १३ का वडाध्यक्ष राजन प्रसाद कुर्मि, वडा नं. २६ का वडाध्यक्ष महेश साह, वडा नं. ११ का वडाध्यक्ष सर्वुनारायण चौधरी रहेका छन् ।
कुहिएको दाल खरिद गरिएको यादव आईस एण्ड कोल्ड स्टोरका कर्मचारी कृष्णप्रसाद यादव र कोल्डस्टोरमा दाल स्टोर गर्ने उद्योगी तेजकरण जैन रहेका छन् ।
जैनलाई काठमाडाैँकाे कीर्तिपुरबाट नियन्त्रणमा लिईएको हो भने अन्य सबैलाई निजहरुकै घरबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
कलैया उपमहानगरपालिकाले लकडाउनको समयमा आफ्ना विपन्न असहाय जनताका लागि राहत वितरण गर्ने क्रममा कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेशराय यादवको कोल्डस्टोरबाट कुहिएको दाल खरिद गरी बिक्री-वितरण गरेको गुनासो आएपछि बारा प्रहरीले उक्त दाल नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएको दाल बसन्तपुर चौकीमा राखिएको छ भने दाल खरिद गरिएको मेयर यादवको कोल्ड स्टोरमा भएको दाललाई समेत प्रशासनले शिल गरी नमूना परिक्षणका लागि हेटौडा पठाएको थियो ।
हेटौडा स्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले उक्त दाल हरु ‘अनिवार्य गुणस्तर अनुरुप नपाईएको’ भन्दै बारा प्रहरीलाई पत्र पठाएको थियो ।
राहतमा वितरण गरिएको दाल गुणस्तरहीन पाईएपछि प्रहरीले अनुसन्धान शुरु गरेको थियो । अनुसन्धानका क्रममा उद्योगी तेजकरण जैनले मेयर यादवको कोल्ड स्टोरमा पशु आहारका निमित्त प्रयोग हुने किरा लागेको दाल राखेको स्वीकारे । उक्त दाल भण्डारण गरे वापत उद्योगी जैनले कोल्डस्टोरलाई शुल्क बुझाउदै आएको उद्योगी जैनका छोरा निशान्त जैनले बताए ।
‘खाद्य सामाग्रीको स्टोर गर्दा ५–७ महिना मात्र गर्ने हो, हामीले त्यो पशु आहारका लागि भनि विगत ४ वर्ष देखि उक्त कोल्ड स्टोरमा रहरको दाल र केही दाना स्टोर गरेको हो’ जैनले भने । आफुहरुले कोल्ड स्टोरमा भण्डारण गरेको मात्र हो, दाल विक्री गरेका छैनौं जैनले भने, ‘हामीले मिडियाबाट थाहा पाए लगत्तै बारा प्रशासनलाई जानकारी समेत गराएका छौं’ ।
जिल्ला प्रहरी कार्यालय बाराले ५ जना वडाध्यक्ष, एक जना वडासचिव साथै एक जना उद्योगीलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको जनाएको छ । अनुसन्धान सकिएपछि सरकारी वकिल मार्फत उक्त प्रतिवेदन प्रमुख जिल्ला अधिकारीलाई बुझाईने समेत प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता