कोरोनाको ‘इपीसेन्टर’ बन्दै प्रदेश १


विराटनगर : चार महिनाअघि नेपाल छिरेका ११ भारतीयसहित प्रदेश १ का दुई नेपाली नागरिकलाई कोरोना पुष्टि भयो। कोरोना संक्रमित २ नेपाली नागरिक पनि ११ भारतीयसँग ४ महिनादेखि सँगै भएकाले उनीहरूलाई एकै स्थानबाट कोरोना संक्रमण भएको चिकित्सकको आशंका छ। तर, मंसिरदेखि नै नेपालमा भएकाले उनीहरूमा कोरोना संक्रमणको सुरुवात कहाँबाट भयो ? प्रदेश १ सरकार, चिकित्सक र सुरक्षा निकायको अहिले टाउको दुखाइको विषय बनेको छ।

केही दिनअघि मात्रै मुख्यमन्त्री शेरधन राईले प्रदेश १ का पहाडी जिल्ला सुरक्षित नै छन्, तराईका चार जिल्ला (झापा, मोरङ, सुनसरी र उदयपुर) मा निगरानी बढाए कोरोनाबाट प्रदेशलाई जोगाउन सकिने बताएका थिए। सुरक्षा निकायको बैठकमा पनि सीमा क्षेत्रमा कडाइ गर्ने र भारतबाट छिरेकाको निगरानी गर्ने उनको निर्देशन थियो। यसै समयमा नेपालको ‘ग्राफ’नै परिवर्तन गर्ने गरी ठूलो संख्यामा प्रदेश १ मा रहेका भारतीय नागरिकमा कोरोना पुष्टि भएपछि प्रदेश १ सरकारलाई चुनौती थपिएको छ।

प्रदेशका सबै १४ जिल्लामा सुरु गरिएको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी)मा पनि दैनिक पोजेटिभ रिपोर्ट आउन थालेपछि विराटनगर र धरानको ल्याबमा काम गर्ने चिकित्सकलाई पनि चाप र तनाव थपिएको छ। शनिबार मात्रै पहाडी जिल्ला तेह्रथुममा आरडीसी परीक्षणमा ६ जनाको रिपोर्ट पोजेटिभ आएपछि पीसीआर परीक्षण नहुँदै पहाड पनि खतरामा परेको हो कि ? आशंकामा सुरक्षा र स्वास्थ्य निकायलाई निगरानी र बाँकी चुनौती सामना गर्न तयारी अवस्थामा रहन मुख्यमन्त्रीले निर्देशन दिए।

‘तयारी सम्पूर्ण क्षेत्रमा द्रुत गतिमा गरेका छौँ, परीक्षण र व्यवस्थापनमा कमजोरी हुन नदिन सबै निकाय परिचालित छन्,’ मुख्यमन्त्री राईले भने, ‘ठूलो मात्रामा कोरोना पोजेटिभ प्रदेश १ मा भए पनि हामी गम्भीर रूपमा लागेका छौँ।’ उनले प्रदेश १ का तराईको ठूलो क्षेत्र भारतसँग जोडिएकाले चुनौती बढी भएको मूल्यांकन यसअघि नै गरेर तयारी गरेकाले व्यवस्थापनमा सहज भएको बताए। ‘हामीले कोरोना संक्रमितलाई मात्रै राख्ने अस्पताल बनायौँ, सबै व्यवस्थापन गरेका थियौँ र चिकित्सक पनि समयमा परिचालन गरी संक्रमितको उपचार र निगरानी गर्न सकेका हाँै,’ उनले भने, ‘नत्र समस्या गम्भीर हुन्थ्यो।’

शुक्रबार एकैपटक उदयपुरको मस्जिदमा भरतबाट आएर बसेका ११ सहित १ नेपालीको कोरोना पोजेटिभ आएपछि देशकै ध्यान प्रदेश १ तर्फ मोडिएको थियो। शनिबार उनीहरूसँगै रहेको थप १ नेपालीमा कोरोना पोजेटिभ भेटिएपछि प्रदेश १ मै कोरोना संक्रमितको संख्या १३ पुगेको छ। शनिबार कोरोना पोजेटिभ भेटिएकालाई पनि आइतबार बिहान विराटनगर ल्याएर कोरोना विशेष अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे बताउँछन्। ‘कोरोना पोजेटिभ सबैलाई अस्पतालमा राखेर उपचार र निगरानी सुरु गरिएको छ, उनीहरू भएको स्थानमा निगरानी र परीक्षणको दर बढाइएको छ,’ हामी यो तथ्यांकलाई यही रोक्न त लागेकै छौँ,’ मन्त्री घिमिरेले भने।

उदयपुरमा रहेका एउटै समूहका १३ जनाको कोरोना पोजेटिभ देखिएपछि उनीहरूको ‘ट्राभल हिस्ट्री’का आधारमा डुलेका स्थानमा स्वास्थ्य परीक्षण, र्‍यापिड टेस्ट र सामाजिक दूरी कायम राख्न स्थानीय तहसँगै सुरक्षा निकाय र स्वास्थ्यकर्मी युद्धस्तरमा खटिएको प्रदेश सरकारले जनाएको छ। उदयपुरको मस्जिद क्षेत्र सिल गरी वरपरका नागरिकको नमुना संकलन र परीक्षण शनिबारबाटै सुरु गरिएको छ भने उनीहरू डुलेको मोरङ, सुनसरी र सप्तरीका मस्जिदमा परीक्षण र सिलसहित उच्च निगरानी बढाइएको आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले बताए।

१३ जनाको निगरानीमा ५ चिकित्सक

प्रदेश १ सरकारले विराटनगरमा स्थापना गरेको कोरोना विशेष अस्पतालमा १३ जना कोरोना संक्रमितलाई राखिएको छ। ५० बेडको अस्पताल निर्माण सकिएपछि यसको स्वामित्व कोसी अस्पतालमा छ र त्यहाँबाटै चिकित्सक परिचालन गरिँदै आएको छ।

शुक्रबार राति १२ र आइतबार १ जना कोरोना संक्रमित अस्पतालमा राखिएपछि उनीहरूको निगरानी र उपचारमा ५ जना चिकित्सक परिचालन गरिएको कोसी अस्पतालले जनाएको छ। उनीहरूसँगै आवश्यकताअनुसार नर्स र सहयोगी कर्मचारी पनि खटाइएको कोसी अस्पताल विराटनगरकी मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर संगीता मि श्राले बताइन्।

पाँचमध्ये ४ चिकित्सकले ६/६ घण्टाका दरले ड्युटी गर्नेछन्। एक जना चिकित्सकको ड्युटी भने २४ सै घण्टा हुनेछ। उपचारमा खटिने चिकित्सकले अनिवार्य व्यक्तिगत सुरक्षा सामग्री पीपीई लगाउनुपर्छ। यसरी पीपीई प्रयोग गरेको ६ घण्टापछि खोल्न पाइने डाक्टर मि श्राको भनाइ छ।

चिकित्सकलाई ६ घण्टासम्म शौचालय गर्न र खानपान गर्न गाह्रो हुने बताइएको छ। यदि, खानपान वा शौचालय गर्नुपरे पीपीई खोल्नुपर्छ। यसरी खोलिएको पीपीई सेटका सामग्री पुनः प्रयोग गर्न मिल्दैन। विराटनगरमा कोरोना संक्रमितको उपचारका लागि खटिने ५ चिकित्सकलाई सात दिनपछि क्वारेन्टाइनमा राख्नेसमेत तयारी भएको डाक्टर मि श्राले जानकारी दिइन्। अस्पतालमा भर्ना गरिएका १३ जनाकै स्वास्थ्य अवस्था सामान्य छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता