उदयपुरमा ८ जनामा कोरोना आशंका, थप परीक्षणका लागि बीपी प्रतिष्ठान धरान लगिँदै

काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा थप आठ जनामा कोरोना संक्रमणको आशंकापछि धरान लगिएको छ  । 
स्रोतका अनुसार कोशी अस्पतालको ल्याबमा गरिएको परीक्षणबाट थप ८ जनामा कोरोना संक्रमण देखिएको हो । उनीहरुलाई लिन प्रदेश १ सरकारले एम्बुलेन्स पठाएको थियो । 
संक्रमित भनिएकाहरुलाई विराटनगरस्थित कोशी कोरोना अस्पताल अथवा धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कहाँ राख्ने भन्ने विषयमा धरानमा चिकित्सकबीच छलफलमा भएको थियो । 
‘‘स१च ४ ५८० नम्बरको र अर्को एम्बुलेन्स संक्रमितलाई लिन भुल्के पुगेको थियो’’, स्रोतले भन्यो, ‘‘लक्षण नदेखिएकोले उनीहरुलाई चिकित्सकको निगरानीमा उदयपुरमै आइसोलेसनमा राख्ने कि भन्ने पनि छलफल भएको थियो । तर, बीपी प्रतिष्ठान नै लगिएको छ ।’’ 
भुल्केमा मस्जिदमा बसेका दुई नेपालीसहित भारतबाट आएका ११ जना मुस्लिममा कोरोना पुष्टि भएसँगै नेपाली सेनाले भुल्के आसपासको बस्तीमा तीन दिन लगाएर स्वाब संकलन गरेको हो । त्यहाँ तीन दिनमा ३ सय २१ जनाको स्वाब संकलन गरिएको थियो । 
पहिलो दिन वैशाख ६ गते शनिबार संकलन गरेको ६९ वटा स्वाब कोशी अस्पताल परीक्षण भएको थियो  । 
प्रदेश १ जनस्वास्थ्य प्रयोगशाला विराटनगरका निर्देशक डा. जयवेन्द्र यादवले संक्रिमत भनिएकाहरुलाई उदयपुरबाट ल्याएर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै राख्ने भएपनि त्यहाँ प्रतिष्ठानकै नियमअनुसार हुने जानकारी दिएका छन् । उनले भने,‘‘संक्रमितलाई अलग्गै के कसरी राख्ने हो भन्ने प्रतिष्ठानकै नियमअनुसार हुने विषय हो ।’’ 
प्रदेश सरकारले प्रतिष्ठानमा पनि आईसोलेसन बनाएको छ ।
आइतबार भुल्के आएको नेपाली सेनाको छाउनी अस्पतालका चिकित्सक टोलीले दुई दिन लगाएर २ सय ५२ जनाको स्वाब संकलन गरेर काठमाडौं लगिसकेको छ । ती नमूनाको परीक्षण काठमाडौंमा भइरहेको छ ।
प्रदेश एकका प्रहरी प्रवक्ता डीएसपी सुमन कुमार तिमिल्सिनाले सबैलाई धरान लगिएको पुष्टि गर्दै थप परीक्षणका लागि लगिएको बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता