भारतका सीमावर्ती शहरमा संक्रमित बढेपछि सीमानाकाको चोर बाटोमा सशस्त्र परिचालन

कपिलवस्तु, २३ चैत । नजिकका भारतीय सीमावर्ती शहरमा कोरोना संक्रमित फेला परेपछि कपिलवस्तुका सीमा क्षेत्रमा लुकीचोरी आवतजावत हुने ससाना बाटोमा सशस्त्र प्रहरी परिचालन गरिएकोछ ।
कोरोना संक्रमणको रोकथामका लागि खुल्ला सीमाका कारण सर्वसाधारण लुकीचोरी आवतजावत गर्ने गरेकाले जोखिम बढेको हुँदा सीमानाकामा उच्च सतर्कता अपनाइएको हो ।
भारतमा कोरोना संक्रमित र त्यसबाट मृत्यु हुनेको संख्या दिनप्रति दिन बढ्दै गएको छ । आइतबार दिउसोसम्म भारतमा ३ हजार ५ सय ८८ जना संक्रमित हुनुका साथै ९९ जनाको मृत्यु भइसकेको छ ।
लुकीचोरी आवतजावत गर्ने सबै नाकामा कडा सुरक्षा
भारतसंग सीमा जोडिएको कपिलवस्तुको ९३ किमीमा ठाँउठाँउमा लुकीचोरी आवतजावत गर्ने ससाना नाका छन् । सशस्त्र प्रहरीको सय जनाको थप शक्ति आईतवार यहाँ आइपुगेको छ ।
उनीहरुलाई सीमा रहेको ६ वीओपी र एक भन्सार राजस्व गुल्ममा परिचालन गरिसकिएको छ । उक्त युनिटले थप जनशक्तिलाई त्यस्ता लुकीचोरी गर्ने सीमानाकामा परिचालन गर्ने सशस्त्रको २८ नम्बर गणका उपरीक्षक जनकराज पुरीले जानकारी दिनुभयो ।
‘चोर नाका पूरै ठप्प पारेका छौं,’ उहाँले भन्नुभयो, ‘कसैलाई आवतजावत गर्न दिएका छैनौं, नाका शिल गरेका छौं, समकक्षी भारतीय एसएसबीले पनि सहयोग गरेको छ ।’
आवतजावत नियन्त्रणका लागि सशस्त्रको नौवस्ता, शम्सेरगञ्ज र बर्दघाट तालिम केन्द्र तथा पहाडी जिल्लाबाट थप जनशक्ति झिकाईएको छ । थप सशस्त्र परिचालन पछि खुला सीमा सुरक्षित भएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताउनुभयो ।
सीमा नाका र जिल्ला अन्तर अनाधिकृत प्रवेश रोकिएर संक्रमणको संत्रास कम भएको पनि उहाँले बताउनुभयो ।
रुपन्देहीको सीमावर्ती भारतीय शहरमा ६ संक्रमित फेला
रुपन्देहीको सीमावर्ती भारतीय शहरमा कोरोना संक्रमित फेला परेपछि सुरक्षा सतर्कता बढाईएको हो ।
शनिबार रुपन्देहीको मुख्य सीमानाका बेलहियादेखि २५ किलोमिटर र मर्चवार क्षेत्रदेखि ५ किलोमिटरको दूरीमा रहेको कोल्हुई र पुरन्दपुर क्षेत्रको चार गाउँमा ६ संक्रमित फेला परेका थिए ।
सीमापारी भारतीय बजारमा संक्रमित फेला परेपछि सीमामा उच्च सतर्कता अपनाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले महादेव पन्थले बताउनुभयो ।
उहाँले यसअघि बढी आवतजावत हुने पाँचवटा मुख्य नाका शिल गरिएको र अब आवातजावत हुन सक्ने ससाना नाका(बाटो) पनि शिल गरिएको बताउनु भयो । सशस्त्र र जनपद दुवैले सीमावर्ती क्षेत्रमा गाडी मोबाइल गस्ती, पैदल गस्ती, मोटरसाइकल गस्तीलगायतका माध्यमबाट सीमाको निगरानी गरिरहेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता