लकडाउनकाे माैका छाेपी तस्कर पसे वनमा, सुरक्षाकर्मी र तस्करबीच गोली हानाहान


रौतहट, २४ चैत्र । रौतहटको गुजरा नगरपालिकाको एक सामुदायिक वनमा लकडाउनकाे माैका छाेपी तस्करहरू वनभित्र पसेका छन् । साे क्रममा वन सुरक्षाकर्मी र तस्कर समूहबीच दोहरो गोली हानाहान भएको छ ।
सो नगरपालिकाको वडा नम्बर- २ मा रहेको अन्जुमन सामुदायिक वनक्षेत्रभित्र वन सुरक्षाकर्मी र तस्कर समूहबीचमा गोली हानाहान भएको हो ।
आइतबार साँझ तस्करहरु हतियारसहित वन क्षेत्रमा प्रवेश गरेको सुराकीको आधारमा सेक्टर वन कार्यालय चोँचाका अधिकृत राजेश कुमार साहको नेतृत्वमा गएको टोलीले घेरा हालेकाे थियाे । लगत्तै तस्करको समूहले वनटोलीमाथि सुरुमा गोली प्रहार गरेकाे थियो ।
करिब २५–३० जनाको समुहमा रहेका तस्करहरुले वनटोलीलाई देख्नैबित्तिकै गोली प्रहार गरेको अधिकृत साहले बताउनुभयो । उहाँले तस्करहरुले फायर गरेपछि वन टोलीले पनि जवाफी फायर गरेको बताउँदै सो क्रममा वन सुरक्षाटोलीले ३ राउण्ड र तस्करले २ राउण्ड गोली प्रहार गरेको जानकारी दिनुभयो ।
‘हामीले उनीहरुले घेरा हालेको थाहा पाउनेबित्तिकै उनीहरुले हामीमाथि फायर गरे,’ उहाँले भन्नुभयो, ‘हामीले पनि जवाफी फायर गरेपछि उनीहरुले पछाडि पछाडि हटेर भाग्दै गए ।’ उहाँले तस्करहरुलाई पछ्याउने क्रममा वनटोलीले तस्करहरुको एकथान भरुवा बन्दुक बरामद गरेको जानकारी दिँदै भिडन्तमा दुवैतर्फ कुनै क्षति नभएको बताउनुभइाे । साथै तस्करहरुको खोजी कार्य तीव्र पारिएको बताउनुभयो ।
तस्करहरु ठुलो संख्यामा रहेकाले पक्रन नसकेको भन्दै उहाँले अनुसन्धान र सुरकीको आधारमा तस्करहरुलाई पक्राउ गरिने दावी गर्नुभयो । साहले धोरै जनशक्तिको कारण कार्यसम्पादनमा गाह्रो भएको गुनासो गर्दै आफुहरुले वन संरक्षण र वन्यजन्तु चोरी शिकार रोक्न गस्ती बढाइरहेको जानकारी दिनुभयो ।
सरकारले कोरोना भाइरसको संक्रमणबाट बच्न गरेको सुरक्षाकर्मीको ध्यान लकडाउनमा लागेको मौकामा जिल्ला वनहरुमा काठ तस्करी, वन्यजन्तु चोरी शिकारी बढिरहेको स्थानियहरुको गुनासो रहेको छ । यसलाई रोक्न जिल्ला वन कार्यालयले ठोस कार्ययोजना र अभियान चलाउनु पर्ने अन्यथा लकडाउनको मौका पारेर वन र वन्यजन्तु तस्करहरुले सक्ने स्थानियको भनाइ रहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता