कोरोनाको जोखिम बढ्दो : पूर्वी नाकाबाट परीक्षणबिनै धमाधम भित्र्याइँदै नेपाली


झापा, १७ जेठ । भारतबाट पूर्वको सीमा नाका काँकडभिट्टास्थित मेची पुलसम्म आएका नेपालीलाई आरडीटी, पीसीआरकाे त कुरै छाेडाैँ, सामान्य ज्वरोसमेत जाँच नगरी विभिन्न क्वारेन्टाइन र होल्डिङ एरियामा राखिँदा झापामा कोरोना संक्रमणको जोखिम उच्च भएको छ ।
पूर्वी सीमा-नाकाबाट नेपाल आउने र भारत जाने मानिसको भीड बढेसँगै मेचीनगर, अर्जुनधारा, बिर्तामोड, शिवसताक्षी, दमक लगायतका क्षेत्रमा कोरोना संक्रमणको जोखिम उच्च बनेको हो ।
सीमावर्ती गाउँहरूमा संक्रमण तीब्र
कोरोनाको जाँच नै नगरी दिनैपिच्छे नेपाल आउने र भारत जाने मानिसको संख्या बढेसँगै जोखिम बढेको काँकरभिट्टाका स्थानीयको दुःखेसो छ ।
भारतसँगै सीमा जोडिएको भद्रपुर नगरपालिका, कचनकवल, बाह्रदशी र झापा गाउँपालिकामा संक्रमण देखिसकेको छ । पछिल्लो समय भारतबाट आएर झापाका क्वारेन्टिनमा बसेका नागरिकरुलाई कोरोना संक्रमणको पुष्टि हुदै आएको अवस्थामा काकडभिट्टा र अन्य नाकामार्फत नेपाल भित्रने सर्वसाधारणको सामान्य स्वास्थ्य परीक्षण समेत गरिएको छैन ।
परीक्षण किट छैन, सोझै जिल्ला पठाइँदै
आवश्यक स्वास्थ्य सामग्री नहुदा स्वास्थ्य परिक्षण गर्न नसकिएको झापाका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताउनुभयो ।
‘धेरै संख्यामा नेपालीहरु भित्रिएपछि उनीहरुको व्यवस्थापन गर्न नै समस्या भयो’ सहायक प्रजिअ राईले भन्नुभयो, ‘आरडीटी परीक्षण गर्न किट अभाव छ, पीसीआर गर्न पनि सबैको साध्य भएन, त्यसैले सम्बन्धित जिल्ला नै पठाइरहेका छौँ’
पछिल्लो एक हप्ताको अवधिमा मात्रै पूर्वी नाका काँकडभिट्टा हुदै झण्डै २ हजार ७ सय नेपाली नागरिक नेपाल भित्रिएका छन् । उनीहरु मध्ये १ हजार ३ सय जना झापाकै र अन्य जिल्लाका रहेका छन् । झापा बाहेकका अन्य जिल्लाका नागरिकहरुलाई सम्बन्धित जिल्लासँग समन्वय गरी सदरमुकाम सम्म पुर्याउने ब्यवस्था मिलाइएको छ ।
उनीहरुलाई जिल्ला प्रशासन कार्यालयबाट ५ मिनेटमा सवारी तथा नागरिकको पास इमेलमार्फत् प्रहरीलाई पठाएर सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा पठाउने गरिएको छ ।
झापामा मात्रै १०७ जना संक्रमित
यस्तै, भारत गएकाहरु काँकडभिट्टा बाहेक झापाकै भद्रपुर, केचना, झापा, गौरिगंज लगायतका स्थानबाट समेत लुकीछिपी नेपाल प्रबेश गर्ने क्रम रोकिएको छैन । हालसम्म झापामा १०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ ।
कचनकवल गाउँपालिकामा मात्रै भारतबाट आएर क्वारेन्टाइनमा बसेका मध्ये एक सय जनामा रोगको संक्रमण पुष्टि भइसकेको छ ।
त्यस्तै केही दिन अघिमात्रै भारतबाटै आएर भद्रपुर नगरपालिकाको क्वारेन्टाइनमा बसेका अर्का एकजनामा समेत संक्रमण पुष्टि भएको छ ।
तसर्थ, भारतबाट विभिन्न नाकाको प्रयोग गरी नेपाल भित्रने नागरिकको स्वास्थ्य परिक्षणको भरपर्दो व्यवस्था मिलाउन जरुरी छ । नत्र समुदायमा समेत रोगको संक्रमण फैलन सक्ने सम्भावना प्रबल बनेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता