नेपाली भूमिमा भारतले सडक बनाएको भन्दै दूतावास अगाडि प्रदर्शन गर्ने ३३ विद्यार्थी प्रहरी नियन्त्रणमा

Picture : Facebook (Ashok Thapa)
काठमाडौं, २७ बैशाख । नेपाली भूमिमा भारतले सडक बनाएको भन्दै त्यसको विरोधमा काठमाडौंस्थित भारतीय दूतावास अगाडि प्रदर्शनमा उत्रिएका ३३ विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
लकडाउन उल्लङ्घन गरेकाले उनीहरुलाई आज नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए ।
विद्यार्थी राष्ट्रिय झण्डासहित प्लेकार्ड बोकेर सो दूतावास अगाडि प्रदर्शन गर्न पुगेका थिए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थीले यसरी प्रदर्शन गरेको जनाइएको छ ।
सोही क्रममा विद्यार्थी नेता सुदेश पराजुली, यशु लामा, महेश श्रेष्ठ, अशोक थापा, मेघनाथ चापागाईंलगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
नेपालको भूगोलमा रहेका लिपुलेक, कालापानीबाट चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर जोड्ने सडक ट्र्याकको शुक्रबार उद्घाटन गरेको समाचार भारतका सङ्घीय रक्षामन्त्री राजनाथ सिंहले ट्वीटमार्फत सार्वजनिक गरेका जनाइएको छ ।
यस विषयमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विभिन्न सञ्चारमाध्यमबाट सो क्षेत्रमा पछिल्लो भारतीय गतिविधिबारे जानकारी पाएको र यसबारे स्पष्ट विवरण दिन भारतीय दूतावासमार्फत भारत सरकारसमक्ष माग गरिएको बताएका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता