ब्राजिलमा काेराेना संक्रमित संख्या ८ लाख नाघ्याे, ४१ हजारकाे मृत्यु


काठमाडाैँ, ३० जेठ । दक्षिण अमेरिकी मुलुक ब्राजिल पछिल्लाे समय कोरोना भाइरस (कोभिड– १९) महामारीको नयाँ केन्द्र बनेकाे छ । सबैभन्दा बढी संक्रमित रहेकाे संयुक्त राज्य अमेरिकाकाे भन्दा पनि बढी दैनिक मृत्यु र संक्रमणका केस ब्राजिलमा फेला परिरहेका छन् ।
ब्राजिलमा काेराेना संक्रमित संख्या ८ लाख नाघेकाे छ । बिहीबार ब्राजिलमा एकै दिन ३० हजार ४६५ जनामा संक्रमण पुष्टि भएकाे छ । काेराेना भाइरसकै कारण बिहीबार एक दिनमा १ हजार २६१ जनाकाे ज्यान गएकाे छ । अहिले ब्राजिल दैनिक नयाँ संक्रमित थपिनेमा मात्र नभएर दैनिक मृत्यु संख्यामा पनि विश्वकै पहिलाे स्थानमा देखिएकाे छ ।
कोरोना संक्रमित देशको लहरमा दोस्रो स्थानमा रहेको ब्राजिलमा शुक्रबार बिहानसम्म जम्मा संक्रमित संख्या ८ लाख ५ हजार ६४९ पुगेकाे छ । त्यहाँ अहिलेसम्म काेराेनाबाट मृत्यु हुनेकाे संख्या ४१ हजार ५८ पुगेकाे छ । मृत्युका हिसाबले अहिले ब्राजिलले बेलायतलाइ उछिन्न लागेकाे छ । बेलायतमा अहिलेसम्म ४१ हजार २७९ जनाकाे मृत्यु काेराेना भाइरस संक्रमणकै कारण भएकाे छ ।
यद्यपि ब्राजिलमा कुल संक्रमितमध्ये ३ लाख ९६ हजारभन्दा बढी मानिसचाहिँ निको भइसकेका छन् । बिहीबार मात्र एकै दिनमा १६ हजार ३९२ जना निकाे भएकाे वर्ल्डाेमिटर्सले जनाएकाे छ । त्यहाँ हाल ३ लाख ६७ हजारभन्दा बढी मानिसमा कोरोना भाइरस सक्रिय छ । ब्राजिलमा निकाे हुने दर अमेरिकाकाे भन्दा बढी छ ।
उता विश्वमा सबैभन्दा बढी कोरोना संक्रमण र मृत्युका केसहरु रहेकाे संयुक्त राज्य अमेरिकामा दैनिक मृतक संख्या अहिले घट्न सकेकाे छैन । बिहीबार त्यहाँ भाइरस संक्रमणका कारण ९०० जनाकाे मृत्यु भएकाे छ भने २३ हजार २९५ नयाँ संक्रमित थपिएका छन् । यससँगै अमेरिकामा कुल संक्रमित संख्या २० लाख ८९ हजार नाघेकाे छ ।
याे समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख हजार १६ हजार ३० जनाले यस भाइरसकाे संक्रमणबाट ज्यान गुमाइसकेका छन् । तर ८ लाख १६ हजारभन्दा बढी मानिस निकाे समेत भइसकेका छन् । हाल त्यहाँ ११ लाख ५७ हजारबढी मानिसमा भाइरस सक्रिय छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता