इलामको छिपिटारमा पहिरोको कारण पासो बन्दै विद्युत पोल, दुई घर जोखिममा

  • मनोज अधिकारी 

फिक्कल, १० असारः इलामको सूर्योदय नगरपालिका वडा नम्बर १० छिपिटारमा पहिरो जाँदा २ घर जोखीममा परेका छन् । लिला कुमारी प्रधानको ४ तले पक्की घरको दायाँ पट्टी र दामोदर चापागाँईको निर्माणाधिन घरको ठिक माथिल्लो पट्टी मंगलबार बिहान गएको पहिरोले दुबै परिवारलाई समस्या निम्त्याएको हो । पहिरो गएपछि घर नजिकै रहेका विजुलीका पोलहरु धराप अवस्थामा पुगेका छन् । 
चापागाँईको निर्माणाधिन घरमा पहिरो झरेको छ भने सिधा माथिल्लो पट्टी विद्युतका पोल धराप अवस्थामा पुगेका छन् । भर्खरै ढलाई गरिएको घरमाथी झरेको पहिरो सोरीरहेका कामदारहरुले काम गर्न जोखीम भएको बताए । घरधनी चापागाँईले आफुलाई समस्यामा परेकाले चिन्तित बनेको बेला कुनै प्रतिकृया नजनाउने बताउनुभयो । 
प्रधानको घरको दाँया,बाँया नै पहिरो गएसँगै विद्युतीय पोल धराप बनेको र घरमा बस्न नसक्ने अवस्थामा आएपछि आफुहरु विस्थापित हुनु परेको प्रधन परिवारको भनाई छ । ३ सदस्य परिवार फिक्कल स्थित प्रसुन सिसापसलमा सरेका छन् । प्रधानको घर भाडामा समेत रहेको छ । धन जनको रक्षा गरि पाऊँ भनि पिडित प्रधान परिवारले नगरपालिकाका प्रमुख रण बहादुर राई र १० नम्बर वडाका अध्यक्ष पेमा उगेन लामालाई  निवेदन दिएका छन् । 
प्रहरीलाई समेत घटनाका बारेमा जानकारी गराएको प्रधानको भनाई छ । वि सँ २०७१ साल फागुन १४ गते निर्माण सम्पन्न भएको उक्त ४ तले पक्कि घर करिब ८३ लाख बराबर रकममा सम्पन्न भएको जनाईएको छ ।  गत साल नै घरको बायाँ पट्टी पहिरो गई विजुलीको पोल धराप भएपछि सूर्योदय नगरपालिकाको न्यायिक समितिमा निवेदन पेश गरिएको थियो । निवेदन दिए पछि समिति संयोजक दुर्गा देवि भट्टराईले २ पटक स्थलगत अनुगमन गरिसक्नुभएको छ । समस्या समाधानका निम्ति बारम्बार छलफल पनि भईरहेको छ । तर समस्या निरन्तर विउँतिरहँदा एकातिर धनजनको क्षति हुने चिन्ता त अर्कातिर विद्युत जस्तो संवेदनशिल क्षेत्रमा खबरदारी गर्नै पर्ने बाध्यताका कारण स्थानिय सरकारलाई समाधानमा पहल गरिदिन आग्रह गरिएको पिडित परिवारको भनाई छ ।

यता सम्बन्धित वडाका अध्यक्ष पेमा उगेन लामाले यो समस्या गतसालबाट नै देखिएको र न्यायिक समितिमा निवेदन परिसकेकाले पटकपटक छलफल पनि भईरहेको बताउनुभयो । उहाँले मंगलबार बिहान गएको पहिरोले थप जोखिम निम्त्याएको सुनिएको भन्दै दुःख ब्यक्त गर्नुभएको छ । मंगलबारको पहिरोले पुर्याएको क्षति वा जोखीमको सम्बन्धमा अध्ययन गर्न बाँकी रहेको उहाँको भनाई छ । 
उता विद्युत प्राधिकरण इलाम वितरण केन्द्रका प्रमुख पंकज कुमार गोइतले विद्युतलाई कुनै जानकारी नगराई जग्गा खारिएको र घर बनाईएको हुँदा आफुहरु जवाफदेही नहुने बताउनुभएको छ । घडेरी खार्नु पहिला नै विद्युतमा निवेदन दिईनुपर्ने भए पनि कुनै कानुनी प्रकृया पुरा नभएकाले जसले विद्युतको पोल सम्म घडेरी खारेको छ ऊ स्वयमले क्षतिको जिम्मा लिनुपर्ने वितरण केन्द्रका प्रमुख गोइतको भनाई छ । 
धरापमा परेका विजुलीका पोलमा जडान गरिएका तार झापाको आनारमनिबाट आएको ३३ के भि ए क्षमताको विद्युत लाईन हो । उक्त लाईनमा लामो समयदेखि करेन्ट नभएको प्राधिकरणको भनाई छ । तारमा करेन्ट नभएपनि पोल भने पासो बनेको छ । 

यि घटना प्रतिनिधिमुलक मात्र हुन । यस्ता घटना ग्रामिण भेगका अधिकांश क्षेत्रमा भईरहेको पाईन्छ । कतै विद्युत प्राधिकरणको वेवास्थाका कारण त कतै स्थानिय आफैको लापारवाहीका कारण पनि यस्ता समस्या देखिने गरेको छ । पछिल्लो समय विकास निर्माणका नाममा कतिपय अवस्थामा जथाभावी रुख विरुवा ढाल्ने,वन फडानी गर्ने र अनावश्यक बाटो खन्ने प्रवृत्तिका कारण पनि विद्युतका पोल जिर्ण बन्ने गरेका छन् । अन्ततः यसको प्रत्यक्ष असर सर्वसाधारणमा पर्ने गरेको छ ।
 विद्युत जस्तो संवेदनशिल क्षेत्रमा देखिएका समस्या निराकरणका निम्ति सम्बन्धित निकाय जिम्मेवार,जनप्रतिधिनिधिको भुमिका समन्वयकारी र नागरिक सचेत र सतर्क बन्न जरुरी देखिएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता