ढल्ने अवस्थामा मदन भण्डारीको जन्मघर, के गर्दैछ प्रतिष्ठान ?


  • वसन्त लिम्बू
ताप्लेजुङ, १४ असार । जननेता मदन भण्डारीको आज जन्मजयन्ती । मदनको व्यक्तित्वलाई उपयोग गरेर धेरै कम्युनिष्ट नेताहरुले राजनीतिक फड्को मारे । आज उनीहरु सत्ता र शक्तिमा छन् । तर, तिनै मदन जन्मिएको ताप्लेजुङको मैवाखोला गाउँपालिका–२ ढुङ्गेसाँधुस्थित घर भने ढल्ने अवस्थामा रहेको छ । मदनका सहपाठी र छिमेकीहरु घरको संरक्षणको पर्खाइमा छन् ।
भिरालो जमिन, बीचमा हरियाली अलैंची बगान । त्यही बीचमा अवस्थित मदन भण्डारी जन्मिएको घरमा भने यो हरियालीको सौन्दर्य कत्ति पनि देखिँदैन । एक्लो छ, घर । खरको छानो चुहिएर भित्तामा लेउ लागेको छ । भित्ताहरू चर्कन थालेका छन् । मदन जन्मिएको भनिएको ठाउँ ढिकीको ओखल झाडीले पुरिएको छ । पहिले स्थानीयले संरक्षण गर्दै आएको यो घर मदन भण्डारी प्रतिष्ठानको नाममा गएपछि झन जीर्ण बनेको हो ।
सहपाठीहरुका अनुसार मदन सानैदेखि सरल, नम्र र भद्र स्वभावका थिए । गाउँकै विद्यालयमा अक्षरारम्भ गरेका उनले माध्यामिक शिक्षा भने ताप्लेजुङ सदरमुकामस्थित बाल सुवोधिनी संस्कृत माध्यमिक विद्यालयबाट लिए । भण्डारीका नाममा प्रतिष्ठान, कलेजहरु खुलेका छन् । बाटोघाटो, प्रतीक्षालय र रंगशालकाका नाममा सरकारका तर्फबाट पनि बर्सेनी करोडौं रकम खर्च हुँदै आएको छ । तर, यो घर संरक्षणमा भने कसैको चासो देखिँदैन ।
यही घरकी बुहारी राष्ट्रपति विद्या भण्डारी दुई वर्षअघि पहिलोपल्ट यो घरमा पुग्नुभएकाे थियाे । छोरीहरुसहित पुग्नुभएकाे उहाँले घरको संरक्षण गर्ने र छिट्टै श्रीमानको मृत्युको सत्यतथ्य पत्ता लगाउने बताउनुभएकाे छ । मृत्युको छानबिन गर्न विभिन्न आयोगहरु गठन गरिए । तर पनि घटनाको छानविन नहुँदा मदनका सहपाठी दुःखी छन् ।
स्थानीयहरु मदनलाई विस्तारै राज्यले बिर्सदै गएको गुनासो गर्छन् । ठाउँमा पुगेका कम्युनिष्ट नेता तथा कार्यकर्ताले पनि बेवास्ता गरेको उनीहरुको भनाई छ ।
न्युज२४बट साभार गरिएकाे 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता