कार दुर्घटनामा सञ्चारकर्मी तथा कलाकार कृष्ण पाण्डेकाे निधन


बुटवल, १४ असार । कार दुर्घटनामा परी न्यूज २४ टेलिभिजनका रुपन्दहीस्थित टिभी जर्नलिष्ट कृष्णबाबु पाण्डेको निधन भएको छ । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल-भैरहवा सडक खण्डको तिलोत्तमा-१, ड्राइभर टोलमा गए राति भएको सवारी दुर्घटनामा पाण्डेकाे ज्यान गएकाे हाे ।
बुटवलबाट मध्यराति पाण्डे घर फर्किरहँदा बा ७ च ६९५९ नम्बरको उनी आफैले चलाएको कार दुर्घटनाग्रस्त भएकाे जनाइएकाे छ । दुर्घटनामा गम्भीर घाईते भएका पाण्डेलाई उपचारका लागि बुटवलस्थित चौराहा अस्पतालमा लगिएको र उपचारकै क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
कार सडक किरानाको फलामे बारमा ठोक्किएकाे बताइएकाे छ । टिभी जर्नलिष्ट पाण्डेको शव  अहिले पाेस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।
३० वर्षीय पाण्डे विगत ५ वर्षदेखि न्यूज २४ मा कार्यरत थिए । हाल प्रदेश ५ को व्युरोको जिम्मेवारी पनि सम्हालिरहेका पाण्डेको असfमयिक निधनप्रति न्यूज २४ परिवार मर्माहत बनेको छ । उनले टेलिजिभन र यस्को अनलाइन संस्करणका लागि गरेको योगदान अविष्मरणीय रहनेछ भने न्यूज २४ परिवारले पत्रकार पाण्डे योगदान कहिल्यै भुल्ने छैन ।
पत्रकारिताका अलावा कलाकारिता जगतमा पनि चिनिएका पाण्डे स्याङ्जाकाे विर्घामा जन्मिएका हुन् । पत्रकारिता र कलाकारितालाई माध्यम बनाएर उनी लामो समयदेखि सपरिवार बुटवलमा बस्दै आएका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता