मनसुन देशैभर फैलियाे : बाढी, पहिरो र डुबानको सम्भावना, सतर्क रहन महाशाखाकाे अनुरोध


काठमडाैं, ८ असार । मौसम पूर्वानुमान महाशाखाले मनसुन देशैभर फैलिएकाे जनाएकाे छ । आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै हाल देशमा मनसुनी वायुको प्रभाव मनसुन फैलिएकाे महाशाखाले  जनाएकाे छ ।
आज (सोमबार) देखि हिजो/अस्तिभन्दा वर्षाको मात्रा ह्वात्तै बढ्ने र बाढी, पहिरो, डुबानको सम्भावना भएकाले सतर्कताका लागि महाशाखाले विशेष अनुरोध गरेकाे छ । हाल देशभर सामान्य बदली रही देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेकाे छ- ‘देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश ५, गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश २ र प्रदेश १ का एक-दुई स्थानमा भारी वर्षाको समेत संभावना रहेको छ। जसका कारण ती क्षेत्रहरुका नदीमा पानीको वहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल / पानीको राम्रो निकाश नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’
महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार सोमबार दिउँसो देशभर सामान्य देखि पुर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, प्रदेश ५, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यसैगरी प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेका पूर्वानुमानमा उल्लेख छ ।
सोमबार राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा प्रदेश ५ मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहनेछ।प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुमा साथै प्रदेश ५, कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता