राति १० देखि विहान ५ बजेसम्म हिड्न नपाइने, सामाजिक संस्कारमा १५ भन्दा बढी भेला हुन प्रतिबन्ध

काठमाडौं, ५ असार । सरकारले क्रमशः लकडाउन खुकुलो बनाउँदै गर्दा कोरोना संक्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्य सम्बन्धी उच्च सतर्कता अपनाएर वा स्वयं जागरुक भएर मात्र आफ्नो नियमित काम कारबाही सञ्चालन गर्न सर्बसाधारणलाई आग्रह गरेको छ । गृहमन्त्रालयले शुक्रबार (आज) जारी गरेको ‘बन्दाबन्दीलाई व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड–२०७७’ मार्फत अत्यावश्यक काम बाहेक आफू रहेको आवास÷कार्यस्थलबाट अन्यत्र आवतजावत नगर्न आग्रह गरेको हो ।
त्यस्तै, अत्यावश्यक कामबाहेक राति दश बजेदेखि बिहान पाँच बजेसम्म सर्वसाधारणलाई हिँडडुलमा प्रतिबन्ध लगाइएको छ । साथै, आवतजावत गर्दा वा कार्यस्थलमा कार्यरत रहँदा न्यूनतम दुई मिटरको सामाजिक दूरी कायम गर्नुपर्ने जनाएको छ ।
तोकिएको वस्तु वा सेवाको कारोबार गर्दा वा कार्यस्थलमा कामकाज गर्दा, सेवा प्रवाह एवं आवतजावत लगायतका कार्यका संलग्न रहने व्यक्तिहरुले अनिवार्य रुपमा मास्क प्रयोग गर्नुपर्ने तथा साथमा सेनिटाइजर राख्नुपर्ने जनाइएको छ ।
यसका साथै, विवाह, ब्रतबन्ध, मृत्यु संस्कार, चाडपर्व, पूजापाठलगायतका सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरु गर्नैपर्ने अवस्थामा तोकिएको सामाजिक दूरी सुनिश्चित कायम गर्न र यस प्रकारको जमघटहरुमा १५ जना भन्दा बढी भेला हुन नपाइने बताइएको छ ।
त्यस्तै, गृहका अनुसार मालसामान ढुवानी गर्ने कुनै पनि प्रकारको सवारी साधनहरुले चालक, सह–चालक बाहेक अन्य कुनै पनि यात्रुहरुको ओसारपसार गर्न पाइने छैन । यस्तै, ज्येष्ठ नागरिक, बालबालिका, सुत्केरी, गर्भवती महिला र अशक्त व्यक्तिलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन प्रोत्साहित गर्न पनि गृहले भनेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता