कञ्चनपुरमा ट्रिपर आतंक रोकिएन, ब्याक गरेर मोटरसाईकल चालकमाथि चढाईयाे...


कञ्चनपुर, १९ असार । कञ्चनपुरमा ट्रिपर आतङ्क अझै रोकिएको छैन् । गत माघमा र फागुनमा ट्रिपरले महिला र बालकको ज्यान लिएको तीन महिनापछि फेरि कञ्चनपुरको पुर्नवास नगरपालिका १ मा एक युवकलाई पानी बोक्ने ट्रिपरले युवकको ज्यान लिएको छ ।
शुक्रबार बिहानतिर से १ प १७४ नम्बरको पानी बोक्ने ट्रिपरले से १ क ६४२८ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक योगेन्द्र सिंह ठकुरीको मृत्यु भएको हो ।
हुलाकी राजमार्ग अन्र्तगत पानी बोक्ने ट्रिपरले ठक्कर दिदा पुनर्वास नगरपालिका ७ ९च० गाउँका योगेन्द्र सिंह ठकुरीको घटना स्थलमै मृत्यु भएको हो । ठकुरी ११ बर्षीय भान्जा प्रवीण तामाङ्गलाई लिएर बेलौरी तर्फ जादै थिए । पुर्नवास नगरपालिका १ क्षेत्रमा पुग्दा पानी बोक्ने ट्रिपरले ठक्कर दिएको थियो ।

मृतक ठकुरीले चलाएको मोटरसाईकल पछाडि बसेका प्रवीणले ट्रिपरले ठक्कर दिएपछि ब्याक गरेर मामालाई किचेको बताए । ‘म पछाडी बसेको थिए, ‘ट्रिपरले ठक्कर दियो, ‘उनले भने, ‘म सडक बाहिर ढले चालकले ब्याक गरेर मामालाई किचेर मारिदियो ।’ ब्याक गरेर मारेपछि आक्रोशित स्थानीयको भीडले सो ट्रिपर सहित बा १क ९७८४ र बा १ क ६९३६ नम्बरका अन्य दुई ट्रिपर समेतमा आगजनी गरेका छन् ।
स्थानीयले ब्याक गरेर मारेको भन्दै चालकमाथि कारवाहीको माग अघि सारेका छन् । परिवारले शव समेत उठाएका छैनन् । फरार रहेका चालकको खोजीकार्य भईरहेको पुनर्वास प्रहरीले जनाएको छ । पुनर्वास प्रहरी इन्चार्ज वकिल बहादुर सिहले घटना बारे अनुसन्धान भईरहेको बताउनुभयो ।
स्थानीयको आक्रोशित भीडले दुर्घटना भई हत्या भएको आरोप लगाएका छन् । सिद्धार्थ युवा क्लबका अध्यक्ष जितराज तामाङ्गले घटना मिलापत्र गर्न नहुने बताउनुभयो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता