नेकपा स्थायी कमिटी बैठक : चार सदस्यद्धारा प्रधानमन्त्रीको राजीनामा माग, एक बचाउमा


काठमाडौं, १७ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको आजको बैठकमा पनि बोल्ने ५ मध्ये चार जनाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको माग राखेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा बोलेका स्थायी कमिटी सदस्यहरु लीलामणि पोखरेल, मातृका यादव , नन्दकुमार (एनके) प्रसाई र पेशल खतिवडाले प्रधानमन्त्री ओलीको राजीनामा माग गर्नु भएको बताइएको छ । पूर्व माओवादी केन्द्रका यी सदस्यले राजीनामा माग्दा पूर्व एमाले सदस्य एवं पर्यटन मन्त्री योगेश भट्टराई भने प्रधानमन्त्री ओलीको बचाउ गर्नु भएको थियो ।
प्रधानमन्त्री ओलीले पार्टी हित विपरीत कार्य गरेको , पार्टीको शाख गुमाउने काम गरेको , पार्टीको सुझाव विरुद्ध स्वेच्छाचारी शैलीले सरकार चलाएको र पार्टी नै मै हुँ भन्ने प्रवृति देखाएको आरोप राजीनामा माग गर्ने सदस्यहरुको रहेको थियो ।
यता मन्त्री भट्टराईले भने सरकारको कार्यशैलीलाई लिएर आलोचना गर्न ठीक नभएको तर्क गर्दै विषम परिस्थितिमा पार्टी एक भएर अघि बढ्नु विकल्प नरहेको बताउनु भएको थियो ।
मंगलबार बसेको बैठकमा शीर्ष नेताहरुबाटै प्रधानमन्त्रीको राजीनामा माग भएपछि सरकार सकसमा परेको भन्दै प्रधानमन्त्री ओलीले आज विहान आफु निकट मन्त्री र सांसदहरुसंग छलफल गर्नु भएको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता