दीपकराज गिरी भन्छन् : अन्तर्वातादेखि होसियार, आधा घण्टामा आफ्नो व्यक्तित्व स्वाहा नपारौं


काठमाडौं, १७ असार । पछिल्लाे समय अन्तर्वातामा दिएकाे अभिव्यक्तिले कालाकारहरू एकाएक विवादित र ट्रोलकाे शिकार बनेपछि कलाकार दीपकराज गिरीले उनीहरुलाई अन्तर्वातादेखि होसियार रहन सुझाव दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत कलाकारहरूलाई अन्तर्वातादेखि होसियार रहन सुझाव दिएका हुन् ।
यतिबेला कलाकार पूजा शर्मा ट्रोलको शिकार बनिरहेकी छन् । कारण- एक भिडियो अन्तर्वार्तामा पत्रकारले सोधेको प्रश्नमा कलाकार शर्माले अकमकाउँदै नेपालमा ७२ प्रदेश र १४ वटा जिल्ला छन् भनेपछि उनी ट्रोलको शिकार बन्न पुगेकी हुन् ।
त्यस्तै अहिले नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह र अभिनेता तथाअभिनेता तथा निर्माता भुवन केसीबीचको रस्सा कस्सी चलिरहेकाे छ । ठूला ब्यानरका चलचित्रका व्यक्तिहरुले आफूलाई दुर्व्यवहार गरेको भन्दै नायिका शाहले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक भिडियो सार्वजनिक गरेपछि चत्रचित्र क्षेत्र नै तात्तिए हाे ।
पहिलो ‘डेब्यू’ फिल्मबाट नै सफल भएकी शाहले अभिनेता तथा निर्माता भुवन केसीलाई ईंगित गर्दै सार्वजनिक गरेको भिडियो बाहिरिएसँगै भुवन केसीले पनि सामाजिक सञ्जाल मार्फत ‘जुन थालमा खायो सोही थाल दुलो पार्दै हिड्ने’ भन्ने प्रतिक्रिया दिएपछि चत्रचित्र क्षेत्र नै तात्तिएकाे छ ।
त्यस्तै केहि समयअघि नेपाल-भारतबीच​को सीमा विवादबारे दिएको अभिव्यक्तिका कारण विवादास्पद बनेकी थिइन् । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नेपालको नयाँ राजनैतिक/प्रशासनिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेपछि नेपाल र भारचबीचको विवादले आफूलाई भारतीय साथीहरुसँग आफूले ‘फेस’ गर्न गाह्रो भएको बताएपछि उनी विवादास्पद बनेकी थिइन् ।
यसरी कालाकारहरू एकाएक विवादित र ट्रोल बनेपछि गिरीले मिडियाको अन्तर्वाता लिने प्रस्तावलाई कहिले काही ‘नाई’ भन्न सक्नुपर्ने बताएका छन् । दीपकले लेखेका छन्,’कोही सुपरस्टार को हो भन्ने बारेमा चिप्लिए । कोही नेपोटिज्मका बारेमा । कोही केमा कोहि केमा ।’ उनले यो सबै कलाकारहरुले मिडियालाई ‘नाई’ भन्न नसक्ने बानीले विवादमा आएको बताएका छन् ।
कलाकार दीपकले लेखेका छन्,’पत्रकार भाइले फोन गर्‍यो ‘लौ इन्टर्भ्यू दिन पर्‍यो’ भन्यो, क्यामाराको ढक्कन खोल्यो र सुरू भैहाल्यो – टेडा मेडा प्रश्नको झटारो। हामी कलाकार बीना तयारी पत्रकार रिसाउँलान् भनेर बोल्न सुरू गर्छौ, जसो जसो अन्तर्वाता अगाडि बढ्छ, हामी कलाकारको जिब्रो चिप्लिन थाल्छ । व्यवसायिक पत्रकार मनमनै खुशी हुन थाल्छ । आहा, ओहो, टिआरपी।’
नजानकाे विषयमा बाेल्दा अन्तर्वाता संगसंगै आपत, विरोध र गालिको वर्षा आउने उनले बताएका छन् ।  उनले लेखेका छन्-पत्रकारले ‘मुस्ताङ कुन जिल्लामा पर्छ था छ ? कलाकारले एकछिन टाउको कनाउँदै जवाफ दिन्छ, ‘मनाङ जिल्ला होला’ हाहाहाहा लामो हॉसो पनि जान्छ  । कलाकार र पत्रकारबीचकाे अन्तर्वाता शाखा अधिकृतको जागिरको लागि लिइएको स्तो हुन थाल्छ, कलाकार चुपचाप नजानेको बिषयमा बोल्दै जान्छ । अन्त्यमा, आज त गज्जब भो अन्तर्वाता भोलि हेर्नुस है भन्दै पत्रकार खुशी साथ बिदा हुन्छ … भोलि अन्तर्वाता आउँदैन, अन्तर्वाता संगसंगै आपत आइलाग्छ, जताततै भाइरल, विरोध, गालिको वर्षा ।
उनले नजानेकाे विषयमा ‘हामी किन बाेल्छाैँ ?’ भनेर पनि प्रश्न गरेका छन् । कलाकारलाई अन्तर्वाताका लागि ‘सेलेक्टिभ’ हुन उनले आग्रह गरेका छन् । उनले सबै पत्रकारको नियत राम्रो नहुने पनि बताएका छन् । भनेका छन्,’ ७० प्रतिशत टिआरपी र हेडलाइनका चक्करमा हुन्छन्, सबै पत्रकारको नियत राम्रो हुँदैन।’
उनले एउटा विषयमा अन्तर्वाता लिन बोलाएर पछि कलाकारको ज्ञानको दायरा नाप्न खोज्ने पत्रकारको क्षमतामाथि पनि प्रश्न गरेका छन् । त्यस्ता पत्रकारहरुका लागि २४ घण्टा उपलब्ध भइदिनु, प्रचारको नाममा पत्रकारसँग सीमा नराख्नु, सस्तो बनिदिनु कलाकारको कमजोरी भएको बताएका छन् ।
दीपकराज गिरीले कलाकारलाई अन्तर्वाताका लागि प्रस्ताव आउँदा होसियार रहन र सकेसम्म टार्न सल्लाह दिएका छन् । ‘टार्न नसके पत्रकारसँग आवश्‍यक छलफल गरौं । तयार भएर मात्र अन्तर्वाता दिऔं । आफ्नो व्यक्तित्व आधा घण्टाको अन्तर्वातामा स्वाहा नपारौं ।’
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता