विराटनगरस्थित मोरङ कारागारका एक बन्दीको कोशी अस्पतालमा मृत्यु

विराटनगर, १३ भदौ । विराटनगरस्थित मोरङ कारागारका एक बन्दीको शनिबार कोशी अस्पतालमा मृत्यु भएको छ ।

गत फागुनमा चोरी मुद्दामा पूर्पक्षका लागि कारागार पठाइएका सुन्दरहरैचा–४ का २६ वर्षीय फुर्वासिंह तामाङको शनिबार विहान मृत्यु भएको मोरङ कारागारका जेलर सुभाष लामिछानेले जानकारी दिनुभयो ।

पेट दुख्ने समस्या तथा श्वासप्रश्वासमा समस्या भएपछि शनिबार विहान अस्पताल ल्याइएको र उपचारको क्रममा मृत्यु भएको कोशी अस्पतालका मेसु डा.चुमनलाल दासले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृत्युपश्चात उनको पीसीआर टेष्ट गराउँदा रिपोर्ट भने नेगेटिभ आएको छ । मृतकको शव पोष्टमार्टमपछि परिवारलाई बुझाइने मोरङ कारागारले जनाएको छ ।

योसँगै एक साताभित्र मोरङ कारागारका दुई कैदीबन्दीको मृत्यु भइसकेको छ । गत बुधवार पनि मोरङ कारागारमा कैद भुक्तान गरिरहेका विराटनगर महानगरपालिका वडा नंं. ४ का निराजन यादवको मृत्यु भएको थियो ।

उनको पनि स्वास्थ्यमा समस्या आएर अस्पताल ल्याइएको र उपचारकै क्रममा कोशी अस्पतालमा मृत्यु भएको थियो । उनको पनि पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो ।

विरामी भएपछि अस्पताल ल्याइएको केहीबेरमा दुवै जनाको मृत्यु भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । मोरङ कारागारमा ३ सय कैदीबन्दीको क्षमता छ, तर ९२० कैदीबन्दीहरु रहेका छन् ।

क्षमता भन्दा तेब्बर कैदीबन्दी भएको कारागारमा कैदीबन्दीहरुमा विभिन्न स्वास्थ्यमा समस्या आउने गरेको छ ।

न्युज२४ नेपालबाट साभार



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment