अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ कर्मचारीमा कोरोना पुष्टि


काठमाडौं, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ कर्मचारीमा कोरोना भाइरसको सक्रमण पुष्टि भएको छ ।
गत शुक्रबार अख्तियारका १ सय ८२ कर्मचारीहरुको स्वाब संकलन गरिएको थियो । इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले अख्तियारका कर्मचारीका नमुना संकलन गरेको थियो । १५ कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अख्तियार कार्यालयमा विशेष स्वास्थ्य सतर्कता अपनाइएको छ ।
अख्तियारमा गरिएको परीक्षणमा पोजिटिभ भेटिएका अधिकांश सुरक्षाकर्मी छन् । हरेक दिन ठूलो संख्यामा सर्वसाधारणको आवातजावत हुने अख्तियारमा बिभिन्न मुद्दामा नियन्त्रणमा लिइएकाहरुलाई पनि राख्ने गरिँदै आइएको छ ।
तर १५ कर्मचारीमा देखिएको संक्रमणको विषयमा भने अख्तियारले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन । यस घटना पछि अख्तियारको कामलाई कसरी अगाडि बढाउने भन्ने विषयमा भने आन्तरिक छलफल गर्ने तयारी भइरहेको अख्यितारका एक सदस्यले न्यूज २४ लाई बताए ।
काठमाडौंमा दिनानुदिन बढ्दो संक्रमणको प्रभाव बढी भीडभाड हुने कार्यालयमा पनि फैलिएको हुन सक्ने आशंकालाई अख्यितारको यो घटनाले थप बल पुर्याएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता