यूएईमा दुई नेपालीको रहस्यमय मृत्यु

 काठमाडौं, ३ भदै । यूएईको सारजाहमा बेलबारीका एक युवकसहित दुई जना नेपालीको रहस्यमय मृत्यु भएको छ । मोरङको बेलबारी वाड नं- ३ का २७ वर्षका किरण गुरुङ र तनहुँ भगवतीपुर ७ का ३६ वर्षका मंगलराज श्रेष्ठको मृत्यु भएको हो ।श्रेष्ठको पहिचान खुले पनि गुरुङको पहिचान भने खुल्न सकेको थिएन । सारजाहका विभिन्न सञ्चार मध्यद्वारा दुई जना नेपालीको मृत्युबारे समाचार सार्वजनिक गरिएको थियो । यूएईमा रहेको नेपाली दूतावासले श्रेष्ठको मात्र पहिचान भएको तर गुरुङको पहिचान नखुलेको समाचार सार्वजनिक भएको थियो ।

अहिले दूतावासले पहिचान नखुलेको मृतक युवक किरण गुरुङ भएको पुष्टि गरेको छ । तर किरण गुरुङको मृत्युबारे परिवारले भने ९ दिनपछि मात्र थाहा पाएका छन् । मृतक किरण बेलबारी वाड नं.३ निवासी ४९ वर्षीय झनसिंह गुरुङ र ४७ वर्षीय नरमाया गुरुङका एकलो छोरो हुन । उनको १९ वर्षकी एक बहिनी पनि छिन । परिवारका अनुसार घर खर्च धान्नुको साथै बहिनी एलिसालाई किरणले पढाइ रहेका थिए ।

साउन २४ गते दुवैको मृत्यु अवस्थामा शव फेला परेको यूएइको स्थानीय सञ्चार माध्यमले समाचार सार्वजनिक गरेको थियो । दुई जना बिचको विवाद पछि धारिलो हतियारको प्रहारबाट मृत्यु भएको भन्ने गल्फ न्युजमा उल्लेख छ । दुवैको शरीर भरी धारिलो हतियारको चोट भेटिएको उल्लेख गरिएको छ ।

प्रारम्भिक अनुसन्धानमा आपसी विवादमा एक अर्काको हत्या गरी दुई जनाको मृत्यु भएको देखिए पनि थप अनुसन्धान भइरहेको र घटनामा संलग्न आशंकामा केही पक्राउ परेको गल्फ न्युजमा उल्लेख छ । तर किरणका परिवार भने एक आपसको विवादले नभएर अरूले नै हत्या गरेको हुन सक्ने आशंका रहेको छ । किरणको हत्या भएको भन्दै न्याय दिलाउन परिवारले नेपाल सरकारलाई आग्रह रहेको छ ।

२० वर्षको कलिलो उमेरमा वैदेशिक रोजगारमा बहराइन पुगेका गुरुङ केही महिना अघि मात्र सारजाहा पुगेका थिए । उनका परिवारका अनुसार चराचुरुङ्गीलाई रेखदेख गर्ने काम गर्थे । सारजाहा काममा गए पछि २०७६ साल चैत्र महिना देखी घरमा किरणले पैसा नै पठाउन नपाएको परिवारले जनाएका छन् ।

परिवारका अनुसार केही महिना देखी पैसाको अभावले राम्ररी गरी फोन सम्पर्क पनि हुन नसकेको आमा नरमायाले बताइन । आमाका अनुसार किरणको साथीहरू मार्फत मात्र हालखबर बुझ्न पाउँथिन ।

बाल्यकालका साथी सुमन श्रेष्ठले पनि केही दिन अगाडि मात्र किरणको मृत्युबारे खबर पाएपछि परविारलाई बताएका थिए । तर साथीको मृत्यु भएको खबर अझै पनि विश्वास नलागेको सुमन बताउँछन् । सुमनका अनुसार उनलाई किरणसँगै काम गर्ने फेजल नाम गरेको एक साथी भारतीय युवकले मृत्युबारे जानकारी दिएका हुन । सामाजिक सञ्जालद्वारा फेजलसँग चिनजान भएको सुमनले बताए । भाषा बुझ्न गारो भएकोले फेजलबाट पनि घटनाबारे पूर्ण जानकारी भने थाहा नपाएको सुमनले जनाएका छन् ।

किरणका परिवारका अनुसार मंगलराज र किरण एकै कोठामा बस्ने मिलनसार साथी थिए । मंगलराजको भदौ फर्किने तयारी थियो भने किरणले साउनमा फर्किने तयारी गरेका थिए । तर कोरोना महामारी फैलिएसँगै विविध समस्या उत्पन्न भए पछि फर्कन नपाएको परिवारले जनाएका छन् ।

छोरोको हत्या भएको दाबी गर्दै न्याय तथा क्षतिपूर्ति दिलाउन नेपाल सरकारलाई बुवा आमाले अनुरोध गरेका छन् । विदेशमा नै भए पनि सत्य तथ्य छानबिनको लागि नेपाल सरकारको पूर्ण सहयोग तथा पहलको लागि परिवारले माग गरेका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment