आयुर्वेद स्वास्थ्य केन्द्र पाँचथर सदरमुकाममा रातारात सारेकोमा राँकेवासीको विरोध, राँकेमा पुनःस्थपाना नगरे आन्दोलनको चेतावनी


इलाम, १६ भदौःराँके बजारबासीले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पाँचथरलाई सदरमुकाममा नसार्न माग गरेका छन्।

प्रदेश सरकारले आयुर्वेद स्वास्थ्य केन्द्र राँके बजारबाट फिदिममा सार्ने निर्णय गरेपछि स्थानीयबासीले यो निर्णय कार्यान्वयन नगर्न माग गरेका हुन्।


स्थानीयबासी तथा नेपाल विद्यार्थी संघका जिल्ला सदस्य विपीन बस्नेतका अनुसार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र करिब ३ दशकदेखि राँके बजारमै रहेको छ। तर, प्रदेश नम्बर–१ सरकारले राँके बजारबाट सदरमुकाम फिदिम बजारमा सार्ने निर्णय गरेपछि स्थानीयबासी आक्रोशित भएको बस्नेतले बताएका छन्।

कोरोना प्रकोप फैलिरहेका बेला आयुर्वेद स्वास्थ्य केन्द्रलाई अझै प्रभावकारी बनाउनु पर्ने बेलामा सार्ने निर्णय गरिनु दुःखद र गलत रहेको बस्नेतको भनाइ छ।

‘राँके बजारमा अहिलेसम्म सञ्चालन भएको आयुर्वेद स्वास्थ्य केन्द्रलाई हठात सार्ने निर्णय गरेर सरकारले ठिक गरेन,’ बस्नेतले भने, ‘प्रदेश सरकारको निर्णय नसच्चिए आन्दोलन गर्न बाध्य हुने छौं।’

गाउँमा रहेको सेवा सुविधालाई सरदमुकाममा केन्द्रीकृत गर्न खोजिएको बस्नेतको टिप्पणी छ। उनले आयुर्वेद स्वास्थ्य केन्द्रबाट लाभ लिइरहेका इलाम र पाँचथरका नागरिकलाई पनि यसले असर पार्ने बताए।

‘इलाम र पाँचथरका धेरै मानिस अहिले यो आयुर्वेद स्वास्थ्य केन्द्रबाट सेवा लिइरहेका छन्, फिदिममा अर्को स्वास्थ्य केन्द्र बनाउने र राँके बजारको आयुर्वेद स्वास्थ्य केन्द्रमा जनशक्ति थप गर्नुपर्छ, हाम्रो माग यही हो,’ बस्नेतले भने।

आयुर्वेद अध्ययन केन्द्रको रुपमा विकास गर्न सकिने अस्पताललाई सार्नु गर्ने कुनै कारण नरहेको तर्क गर्दै बस्नेतले स्तरबृद्धिका लागि बजेट दिन प्रदेश सरकारसँग माग गरेका छन्।

राँके बजार पाँचथर र इलामको सीमावर्ती क्षेत्र हो। आयुर्वेद स्वास्थ्य केन्द्रबाट दुवै जिल्लाका नागरिकलाई स्वास्थ्यसेवा उपलब्ध भइरहेको जानकारी स्थानीय रामकुमार लिम्बूले दिएका छन्।

अहिले आयुर्वेद स्वास्थ्य केन्द्रका कर्मचारीहरु भने सदरमुकाम गई सकेका छन र भाद्र १३ गते रातारात गरेर केही सामाग्री पनि सदरमुकाम पुर्‍याई सकिएको छ । राति सामान सार्ने क्रममा स्थानीय वासीले थहा पाए पछि सामान सार्न रोकिएको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment