वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वास्थ्यमन्त्री ढकालका भतिज र ज्वाईको नियुक्ति

विराटनगर, ९ मंसिर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका भतिज र ज्वाइँ नियुक्त भएका छन् ।

वीपी प्रतिष्ठान धरानमा ढकालका भतिज अमृत ढकाल र ज्वाइँ सुमन पन्त अधिकृतसरहको पदमा नियुक्ति भएका हुन् ।

प्रतिष्ठान स्रोतका अनुसार अमृतको नियुक्ति जनसम्पर्क अधिकृत र पन्तको नियुक्ति प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीका कानूनी सल्लाहकारको रुपमा छ । दुवैजनाले ११ कात्तिकमा नियुक्ति पाएका थिए ।

मन्त्री ढकालको दवावमा भतिज र ज्वाइँलाई उपकुलपति गिरीले नियुक्त गरेका हुन् । ढकालको समर्थनपछि डा. गिरीले उपकुलपतिमा नियुक्त पाएका थिए ।

मोरङ क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा निर्वाचनमा स्वास्थ्यमन्त्री ढकाल र नोबेल मेडिकल कलेजका सञ्चालक डा. सुनिल शर्माबीच प्रतिष्पर्धा भएको थियो । कम्युनिष्ट गढ मानिएको क्षेत्रबाट ढकालले मुस्किलले निर्वाचन जित्दा डा. गिरीले भोट माग्न सघाएका थिए ।

कानुनी सल्लाहकार मात्रै तीनजना वीपी प्रतिष्ठानमा स्वास्थ्यमन्त्री ढकालका स्वकीय सचिव भुवन खतिवडाका दाजुले पनि नियुक्ति पाएको स्रोतले जनाएको छ ।

ढकालका स्वीकय सचिव भुवन खतिवडाका दाजु चिरञ्जीवी खतिवडाले कानूनी सल्लाहकारको रुपमा जिम्मेवारी पाएका हुन् । चिरञ्जीवीको नियुक्ति पनि ढकालकै दवावमा भएको थियो ।

प्रतिष्ठान स्रोतका अनुसार उपकुलपतिका कानुनी सल्लाहकार मात्रै तीनजना भएका छन् । यसअघि शान्तिराम भण्डारी कानूनी सल्लाहकारको रुपमा नियुक्त भएका थिए । एकजना कानुनी सल्लाहकार हुनुपर्ने ठाउमा तीनजना नियुक्त भएका हुन् ।

नियमावलीमा उल्लेख नभएका कारण तीनजनासम्मले नियुक्ति पाएका हुन् ।
प्रतिष्ठानका रजिष्टार डा.मोहनचन्द्र रेग्मीले तीनजना कानुनी सल्लाहकार भए पनि छुट्टा–छुट्टै स्थानमा रहेको बताए ।

रेग्मीका अनुसार कानुनी सल्लाहकार खतिवडाले सर्वोच्च अदालत हेर्नेछन् । भण्डारीले विराटनगर र पन्तले कार्यालयको विषयमा हेर्नेछन् ।

केही दिनअघि ढकाल र पन्तले अधिकृतसरह नियुक्ति पाएको उनले बताए । पन्तको नियुक्ति कानून हेर्ने गरी र ढकालको नियुक्ति जनसम्पर्क हेर्नेगरी अधिकृतसरहको बताइएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment