इलाम-सन्दकपुर सडक : ठेक्का बोलपत्र आव्हान भएको ७ महिना वितिसक्दा पनि सम्झौता भएन



  • बिनय तिम्सीना,

इलाम, १९ मंसिर । इलामको पर्यटन विकासको कोसेढुङ्गा मानिएको इलाम–सन्दकपुर सडकको कालोपत्रे गर्ने काम बोलपत्र आव्हान भएको सात महिना वितिसक्दा पनि सम्झौता भने भएको छैन ।

पूर्वाधार विकास कार्यालय, झापाले बैशाख ११ गते इलाम नगरपालिका वडा नं. ३ सुलुवुङको जिरो प्वाइन्टदेखि सन्दकपुर गाउँपालिकाको मावुमा रहेको तीनकुने आसपाससम्म १२ किलो मिटर कालोपत्रे गर्ने कामको लागि बोलपत्र आव्हान गरेको थियो ।

१२ किलोमिटरको कालोपत्रे गर्ने कामको लागि सक्षम श्रेष्ठ जेभी काठमाडौंले ३३ करोड ८ लाखमा टेन्डर लगाएको र हलासम्म पनि पूर्वाधार विकास कार्यालयले आसय–पत्र जारी नगरेको, बोलपत्र आव्हान गरेको सात महिना वितिसक्दा पनि कार्यालयको तर्फबाट कामको सम्झौताको लागि कसैलाई नबोलाएको कम्पनीले जानकारी गराएको छ ।


कार्यालयको तर्फबाट गरिने सम्पूर्ण कामहरु पूरा गरेर स्वीकृतिको लागि काठमाडौँ निर्देशनालय पठाएको तर, अहिलेसम्म स्वीकृत भएर नआएको पूर्वाधार विकास कार्यालय झापाका कार्यालय प्रमुख रमेश श्रेष्ठले बताए । उनले भने, ‘स्वीकृत भएर आउनु पर्ने हो तर, कोभिडको कारणले होला ढिला भइरहेको छ ।’

सडक निर्माणको आयोजना प्रदेश सरकारले तयार गरेको र अहिले विश्वभरी नै फैलिएको कोरोना महामारीका कारण प्रविधिक अप्ठ्यारो परेकाले केही समयको लागि ढिलासुस्ती भएको बताइएको छ ।

अब चाँडैनै सम्झैता भएर काम शुरु हुने इलाम क्षेत्र नम्बर २ ‘क’ का प्रदेश सांसद धिरेन्द्र शर्मा (रमण) ले बताए । उनले भने, ‘प्रदेश अन्तर्गतका यस्ता योजनाहरु धेरै नै रोकिएका छन्, तर यो इलामको आयोजना भने चाँडै नै सम्झौता भएर काम शुरु हुन्छ ।’

यता स्थानीयवासीहरु भने नेकपाको गुटको राजनीतिका कारण योजना काटिन लागेको आशंका गर्न थालेका छन् । पूर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता झलनाथ खनालको क्षेत्रमा भएका धेरै योजनाहरु काटिएको स्थानीहरु बताउँछन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र झलनाथ खनालको टकरावले गर्दा पूर्वी इलामको विकासमा धेरै प्रभाव परेको स्थानीयको गुनासो छ ।

इलाम, पाँचथर भारतको दार्जिलिङको सिमानामा पर्ने ३६३६ मिटरको उचाइमा रहेको इलामको पर्यटकीय स्थल सन्दकपुरमा नेपाल तर्फबाट पक्की सडक नपुगेकै कारणले भारतले फाइदा लिइरहेको छ । सन्दकपुरबाट हिमालहरुको साथै सूर्योदय र सूर्यअस्तको दृष्य अवलोकन हजारौँ पर्यटकहरु पुग्ने गरेका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment