तराई अस्पतालका चिकित्सकको चरम लापरवाहीका कारण अनाहकमा ज्यान गुमाउदै सर्वसाधारण

वीरगन्ज (पर्सा), १६ पुष । वीरगन्जको लक्ष्मणवा चोकमा सञ्चालित तराई अस्पतालका चिकित्सकको लापरवाहीका कारण विरामीहरुले अनाहकमा ज्यान गुमाउनु परेको गुनासो उठेको छ ।

कोरोना महामारीको बखतदेखि नै सेवाग्राहीहरुको उपचारमा चिकित्सकहरुले लापरवाही गरेको तथा पैसा तिर्न नसक्ने भन्दै गरिब, विपन्न परिवारका अति सिकिस्त विरामीहरुलाई समेत अस्पताल हाताबाट फर्काएको घटनाहरु नसेलाउँदै पुनः बिहीबार चिकित्सकको लापरवाहीको कारण एक ब्यक्तिको मृत्यु भएको छ ।

सामान्य ग्यासको समस्या भई बिहीबार विहान आफै मोटरसाइकल चलाएर उपचारका लागि अस्पताल पुगेका वीरगन्ज महानगरपालिका–१६ का ४० वर्षीय अजय सर्राफको चिकित्सकहरुको लापरवाहीका कारण मृत्यु भएको छ ।

ग्यासको पीडा सहन नसकेर एका विहानै ना२०प ९७८१ नम्बरको मोटरसाइकल आफै चलाएर उपचार गराउन विहान ४ बजे अस्पताल पुगेका सर्राफलाई त्यहाँ इमर्जेन्सीमा कार्यरत चिकित्सकहरुले गलत औषधि चलाएको कारण एक घण्टा नवित्दै मृतकका छोरा उत्तम सर्राफले जानकारी दिए ।

मृतक अजय सर्राफका आफन्त अरबिन्द कुमार सर्राफले तराई अस्पतालको कम्पाउण्डरले इन्जेक्सन दिएको कारण मृत्यु भएको आरोप लगाएका छन् । एका विहानै उपचारको लागि इमर्जेन्सी कक्षमा जाँदा त्यहाँ चिकित्सक नभई कम्पाउण्डर रहेकोले तिनले चलाएको गलत औषधिले विरामीको अवस्था चिन्ताजनक हुँदै तत्काल मृत्यु भएको उनको भनाइ छ ।

ग्यास्ट्रिटको औषधि चलाउनु पर्ने ठाउँमा अन्य रोगको थुप्रै औषधिहरु धमाधम लगाउने गरेको कारण औषधि रिएक्सन भएर मृत्यु भएको उनले दाबी गरे ।

एका विहानै आकस्मिक कक्षमा पुग्दा त्यहाँ डाक्टर हुनुपर्ने ठाउँमा कम्पाउण्डर रहेको र तिनले नै डा सुजित कुमार साहद्वारा हस्ताक्षरित लेटरप्याडमा धमाधम औषधि लेखेर किन्न लगाइरहेको अवस्थामा आफूहरुले ग्यासको लागि मात्रै यति धेरै मात्रामा औषधि किन दिनुप¥यो ? भनेर सोध्दा उल्टै बढी बोल्यो भने यहाँबाट रेफर गरिदिने धम्की दिएको भन्दै आफन्त अरविन्दले यहाँ उपचारको नाममा मान्छे मार्ने काम भइरहेको बताए ।

मृतकका छोरा उत्तम सर्राफ

विरामीलाई दिनुपर्ने औषधि नदिएर धमाधम बढी मात्रामा औषधि चलाएको कारण रक्तचाप (ब्लड प्रेसर) उच्च भई मृत्यु भएको उनको दाबी छ ।

यता विरामीको उपचारमा खटिएका डा सुजित कुमार साहले ति विरामीको उपचारमा आफै खटेको र आफैले इन्जेक्सन लगाएको दाबी गरेका छन् । बिहान करिब ४ बजेको समयमा उपचार गराउन आएका अजय सर्राफलाई औषधि दिए पश्चात अचानक उनको रक्तचाप (ब्लड प्रेसर)उच्च भई ब्रेन ह्यामरेज भई मृत्यु भएको हुनसक्ने बताए ।

विरामीको जीउमा अल्कोहलको मात्रा बढी भएको, ग्यास्टिकको समस्याले भयावह स्थिति लिन थालेपछि उनले भोमिटिङ्ग गर्दागर्दै उनको फोक्सोमा भोमिटिङ्ग पुगेर ब्रेन ह्यामरेज भई मृत्यु भएको हुनसक्ने आफूहरुको अनुमान रहेको बताए ।

यता अस्पताल प्रशासन प्रमुख शिवशंकर पटेलले पनि यहाँ जानी जानी कसैको उपचारमा कमी कमजोरी नहुने गरेको दाबी गरे । चिकित्सकहरुले बचाउने धेरै प्रयास गरेको, तर असफल भएकोले अस्पतालकै कारण मृत्यु भएको भन्न नमिल्ने उनले बताए ।

अजय सर्राफको मृत्यु भएसँगै आफन्तजनहरुले चिकित्सकको लापरवाहीको कारण मृत्यु भएको भनेर विरोध गर्न थालेपश्चात तत्काल वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिपक कुमार साहको नेतृत्वमा खटिएको सुरक्षाकर्मीहरुको टोलीले छानविन गर्न घटनास्थल पुगेको थियो ।

यस विषयमा पीडित पक्षले उजुरी निवेदन दिए आवश्यक छानविन हुने प्रनि साहले जानकारी दिए । अहिले तत्कालको लागि हामीले घटना के छ भनेर बुझेको र बाँकी कुरा अनुसन्धानबाट खुल्ने प्रनि साहको भनाइ छ ।

त्यसोत गत मंसिरको अन्तिम साता सोही अस्पतालमा कार्यरत डा.तरनुम खातुनको लापरवाहीको कारण एक महिलाले आफ्नो आँखाको ज्योति गुमाउनु परेको थियो । प्रसुति गराउन पुगेकी रौतहटकी २८ वर्षीया महिलालाई प्रसुति गर्नका लागि गलत तरिकाले शल्यक्रिया गरेको कारण आँखाको ज्योति नै गुमाएकी थिइन् ।

शल्यक्रिया गरेको १२ घण्टापछि होसमा आएकी उक्त महिलाले आफूलाई केही हेर्न नसक्ने भएको बताएपछि डा. खातुनले विस्तारै विस्तारै हेर्न सकिने भनेर आश्वासन दिएका थिए ।

तर, एक हप्तासम्म आँखाले केही हेर्न नसकेपछि आफन्तले विरोध गर्न थाले पश्चात अस्पतालमा कुनै किसिमको विवाद उत्पन्न नहोस् भन्ने उद्देश्यले अस्पताल प्रशासनले त्यहाँबाट उनलाई तत्काल रेफर गरेको थियो । रेफर गरिएकी उक्त महिलालाई आवश्यक उपचारको लागि भारतको दिल्लीस्थित अस्पतालमा लगिएको छ ।

 न्युज24 नेपालबाट 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment