नुवाकोटको तारुकामा माघेसंक्रान्तिको उल्लास, गोरु जुधाईको रौनक (तस्वीर)



नुवाकोट, १ माघ । आज पहाडमा माघेसंक्रान्ति र तराईमा माघी पर्व हर्षोल्लासका साथ दैशैभरी मनाइयो । तर, मौलिक शैली र संस्कृति बनिसकेको नेपालको एक मात्र गोरु जुधाई मेलाले विश्वमै चर्चित खेल प्रतियोगिता मानिएको स्पेनको बुलफाइट पनि बिर्साउने भिन्नै आकर्षण थपेको छ ।

घ्यू, चाकु, तरुलजस्ता मिठामिठा परिकार खाएर मनाइने यो पर्व नुवाकोटको तारकेश्वर गाउँपालिकाको तारुकामा भने जिव्रोको स्वाद फेर्ने परम्परामा मात्र सीमित छैन । सयौँ वर्षदेखि ती परिकारहरुको अतिरिक्त धुमधाम शैलीमा मनाइने गोरुजुधाई मेला नुवाकोट जिल्लाको सुन्दर गाउँ तारुकावासीको अमिट पहिचान र नेपालीहरुकै सुन्दर संस्कृति बनिसकेको छ ।

संघीय सांसद नारायण प्रसाद खतिवडा, प्रदेश सांसद हिरानाथ खतिवडा लगायतका नेताहरुसहित पुगेका हजारौँ दर्शकहरुको माझमा उक्त ‘बुलफाइट’ को उद्घाटन भयो । यस वर्ष यहाँ २२ हल गोरु जुधाइएको छ ।

फराकिलो बारीको पाटोमा गाउँका अजंगका साँढेहरु जम्मा पारेर बाजी थाप्दै जुधाइने यो प्रतियोगिता २ सय वर्षअघिदेखि चल्दै आएको स्थानीयहरुको कथन छ । यो गोरु जुधाई पर्व कुनै लहड अथवा आफूखुशीको पर्व नभएको संस्कृतिविद् र इतिहासकारहरु बताउँछन् ।

ईतिहासकार दिनेशराज पन्तका अनुसार नुवाकोटे शिलालेखमा उल्लेखित प्रमाणअनुसार यहाँ लिच्छवीकाल देखि नै गोरु जुधाइको प्रचलन कायम रहिआएको छ ।

वि.सं. १८८६ सालमा बझाङ्गी राजा जयपृथ्वीबहादुर सिँह हालको गोरुजात्रा हुने स्थान अर्थात् तारुका–५ चन्दनीस्थित मामाघर आउँदा भन्जालाई स्वागत र मनोरञ्जन गराउन उनका मावलीले बाजागाजासहित साँढे जुधाउने परम्परा पहिलोपटक सुरु गरेका थिए ।

उक्त दिन माघेसङ्क्रान्ति भएको र त्यसै समयदेखि गोरु जुधाउने परम्पराको थालनी भएको स्थानीय बुढापाकाहरुको धारण छ, जसलाई अहिलेसम्मका पुस्ताले पनि पहिचानको मानेर निरन्तरता दिइरहेका छन् ।

सोही परम्परा अन्ततः वरपरको गाउँलेहरुको लागिसमेत मनोरञ्जनको माध्याम र खेल जात्राको रुपमा स्थापित छ, भने धादिङसहित काठमाडौं, चितवनलगायत धेरै जिल्लाबाट दर्शकहरुको ओइरो लाग्ने गरेको छ ।

दशैं तिहारजस्ता हिन्दू आस्थाका चार्ड पर्वमासमेत घर नफर्कनेहरु माघे सङ्क्रान्तिमा भनेपनि साँढेको बेजोड घम्साघम्सी हेर्न घर आउने चलन यहाँ रहेको छ । आफन्त तथा साथीहरुसँग मेलमिलाप गर्ने र भेटघाको अवसरको रुपमासमेत नुवाकोट र धादिङवासीले यस पर्वलाई महत्वका साथ लिने स्थानीयहरु बताउँछन् ।

यस मौलिक पर्वलाई नेपालीकै पहिचानको रुपमा स्थापित गर्नुपर्नेमा सरोकारवालाहरुले समेत जोड दिएका छन् । गोरुको घम्साघम्सीमा काले, तारे, फुर्के, बर्ने, सिँगारे, जोवाने जस्ता अनेकौं नाम गरेका साँढेहरु मैदानमा उत्रिन्छन् । त्यसका लागि एक महिनाअघि नै रिहर्सलमा सबैले आफ्ना बलवान गोरु देखाउन ल्याउँछन् ।

कुन साँढे कुनसंग जुधाउने, उमेर र साइज निक्र्याैल गरिन्छ । साना आकारको चिटिक्क, टिनिक्क परेको छरितो ज्यानमा पुटुस्स परेको रहरलाग्दो जुरो जुधाउनकै लागि छनौट गरिन्छ ।

पोहोर साल जुधेर स्वाद थाहा पाएका साढेको हुँकार अझ हेर्न लायक हुन्छ । बारीमा धुलो उडाउँदै बडेमानका जुरो भएका साँढेहरु जुध्दा पाखाभरि भरिभराउ हजारौँ दर्शककहरुको ताली र हुटिङले अर्को आकर्षण थपिदिन्छ ।

प्रतियोगितामा जुधेका गोरुमध्ये जसको गोरु पहिला भाग्छ, उसैको गोरुले हारेको र अर्को पक्षकाले जितेको ठहरिन्छ । मोटा बलिया बहर गोरुहरु लगातार एक घण्टासम्म भिड्ने गर्छन् । प्रतियोगितमा जसले पालेको गोरुले जित्छ त्यस गोरुधनीलाई १० हजार र हार्नेलाई पनि प्रत्साहनस्वरुप ५ हजार दिने व्यवस्था छ ।

आफूले गुन्द्रुक खाएर गोरुलाई मास, भटमास, अण्डा, कोदोको खोले, मकै आदि पोसिला खाद्यान्न र अन्य प्रोटिनयुक्त आहार खुवाएर पाल्छन् । जुरो ढल्किएको चिल्लो साँढे घरमा पालेर मैदानमा जुधाउन ल्याइन्छ ।

खेतबारी जोत्न गोरुको प्रयोग हुनेभएपनि अहिले कृषि क्षेत्रमा ट्«याक्टरले जोत्ने प्रविधि गाउँगाउँमा भित्रिसकेको छ । तर, यहाँका कृषकहरु भने वर्षमा एकदिन माघेसंक्रान्तिमा जुधाउनकै लागि पाल्ने गरेका छन् ।

यो मेलाको परम्परालाई गोरु जुधाएर सुरुवात गर्नेमध्येका पछिल्ला पुस्ताका स्थानीय मदन श्रेष्ठका जिजुबुबादेखि थालनी गरेको दाबी गर्दै अहिले उनले पनि विगत ३५ वर्षदेखि निरन्तर गोरु जुधाउँदै आएको बताउँछन् ।

न्यूज24नेपालबाट

  

 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment