आज ७१ औँ प्रजातन्त्र दिवस : देशभर विभिन्न कार्यक्रम गरी भव्यरूपमा मनाइँदै


काठमाडाैं, ७ फागुन । एक सय चार वर्षको जहाँनियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ७१ औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ ।

जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।

प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिनुभएको थियो ।

प्रजापरिषद् नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उहाँहरूलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो ।

नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातन्त्र काँग्रेसको २००६ सालमा एकीकरणपछि बनेको नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो ।

जहाँनियाँ राणा शासनविरुद्ध जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासक जनतासमक्ष घुँडा टेक्न बाध्य भई प्रजातन्त्र स्थापना भएको घोषणा गरियो ।

तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र काँग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भयो । फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले केन्द्रमा प्रत्येक वर्ष राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी विशेषरूपमा यो दिवस मनाउँदै आएको छ । सबै जिल्लामा पनि यो दिवस मनाइँदै आएको छ ।

७१ औँ प्रजातन्त्र दिवसकाे अवसरमा राज्यभर र विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासमा समेत हर्षोल्लासपूर्वक भव्यतासाथ मनाइँदै छ ।

गत माघ २० गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले दिवस मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा मूल समारोह समिति गठन गर्ने निर्णय गरेको थियो । सो बैठकले दिवसका अवसरमा फागुन ६, ७ र ८ गते गरिने विभिन्न कार्यक्रमसमेत अनुमोदन गरेको थियो ।

प्रजातन्त्र दिवसका अवसरमा गरिने कार्यक्रमको प्रचारप्रसार गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालको संयोजकत्वमा उपसमिति गठन गरिएको छ ।समितिले अनुमोदन गरेअनुसार आजदेखि प्रजातन्त्र दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्न लागिएको हो ।

दिवसका अवसरमा फागुन ६ गतेदेखि नै तीन दिनसम्म विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ । फागुन ७ गते मुख्य दिनमा राष्ट्रपति विद्यादेवी भण्डारीकै उपस्थितिमा सैनिकमञ्च टुँडिखेलमा विशेष समारोह आयोजना हुँदैछ । उक्त दिन नेपाली सेनाद्वारा तोप र बन्दुकको बढाइँ गरिने छ भने प्रजातन्त्रका लागि जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात शहीदप्रति प्रार्थना र स्मरण गरिने छ ।

यस्तै नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिने गृह मन्त्रालयले जनाएको छ । यस्तै फागुन ६, ७ र ८ गते घर–घरमा साँझ दीपावली गर्न तथा विद्यालय, सङ्घ संस्था, पालिका र प्रदेशमा पनि दिवस मनाउन सरकारले आग्रह गरेको छ । विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासलेसमेत तीनै दिन विभिन्न कार्यक्रम गरी दिवस मनाउने सरकारले जनाएको छ ।

यस्तै काठमाडौँ उपत्यका बाहिरका प्रदेश राजधानी र जिल्लामासमेत विभिन्न कार्यक्रम गरी दिवस मनाइने छ । प्रदेशमा प्रदेश प्रमुखको नेतृत्वमा प्रदेशस्तरीय समिति र जिल्लामा जिल्ला समन्वय समितिका प्रमुखको नेतृत्वमा समिति गठन गरी दिवस मनाइने छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता