इलाम ११, फागुनः इलाम अस्पतालमा मृगौला रोगीहरुका लागि डाइलोसिस सेवा शुरु हुने भएको छ । रोटरी क्लब धरान र इलाम नगरपालिकाले इलाम अस्पताललाई आइतबार एक कार्यक्रमका बीच तीन थान डाइलोसिस मेशिन हस्तान्तरण गरेको हो । इलाम नगरपालिकाको १५ लाख रुपैयाँ र रोटरी क्लब धरानको २८ लाख ७५ हजार गरी ४३ लाख ७५ हजार रुपैयाँ बराबरको मेशिन अस्पतालमा जडान गरिएकाे इलाम नगरपालिकाका नगर प्रमुख महेश बस्तेतले वताए ।
मेसिन जिल्ला समन्वय समितिको नयाँ भवनमा राखिएको छ । त्यहि बाट सेवा दिइने अस्पतालले जनाएको छ । तीन वटै मेशिन जडान गरिसकिएको छ । सेवा सुरु गर्न जनशक्तिलाई तालिम दिनुपर्ने अस्पतालले जनाएकाे छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालिम दिइएपछि इलाम अस्पतालमा सेवा सुरु हुने इलाम अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले बताए। एक जना एचए र एक जना स्टाफ नर्सलाई तालिम दिनका लागि तयारी भइरहेको उनले बताए ।
एउटा डाइलोसिस मेशिनबाट चार घण्टामा एक जनाले सेवा लिन सक्नेछन् । तीन वटा मेसिन भए पनि एक पटकमा दुई जनालाई मात्रै सेवा दिन सकिने व्यवस्थापक खतिवडाले बताए । तीन मध्ये एक वटा मेसिन भने स्पायर राख्नुपर्ने हुन्छ, यसैले एक पटकमा दुई जनाले मात्रै सेवा पाउने उनले जानकारी दिए ।
सेवा शुरु भएपछि इलाम, पाँचथर, ताप्लेजुङ्ग, तेह्रथुमका बिरामीले इलामबाटै सेवा पाउनेछन् । इलाम अस्पतालमा सेवा शुरु भएपछि नियमीत डाइलोसिसको लागि तराई तथा अन्य जिल्लाका अस्पताल जानुपर्ने बाध्यता टर्नेछ
।
0 comments:
Post a Comment