पर्साको ओरिया खोलामा भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप, पाँच प्रहरी घाइते

वीरगन्ज (पर्सा), ३० माघ । पर्साको ओरिया खोलाबाट बालुवा निकाल्ने भारतीय तस्कर समूह र सशस्त्र प्रहरीबीच झडप हुँदा पाँच जना सशस्त्र प्रहरी जवान घाइते भएका छन् ।

जगरनाथपुर गाउँपालिका वडा नं. १ पिपलाडी बिसनपुरस्थित ओरिया खोलाबाट भारतीयहरूले अवैध तरिकाबाट बालुवा निकाल्ने कार्यलाई रोक्न खोज्दा तस्कर र सशस्त्र प्रहरीबीच झडप भएको थियो । झडपमा परेर घाइते भएका ५ जना सशस्त्र प्रहरी जवानमध्ये २ जनालाई गम्भीर चोटपटक लागेको छ भने तीन जनालाई सामान्य चोटपटक लागेको छ ।

घाइते सशस्त्र प्रहरी जवानहरुको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । ओरिया खोलाबाट अवैध तरिकाले भारतीयहरुले बालुवा निकालिरहेको भन्ने सूचनाको आधारमा बोर्डर आउट पोष्ट पिडारी गुठीका शसस्त्र प्रहरीका इन्स्पेक्टर बसन्त जिसी र बोर्डर आउट पोष्ट जिराभवानीका शसस्त्र प्रहरीका इन्स्पेक्टर केदार राईको संयुक्त टोलीले तिनीहरुलाई बालुवा लैजानबाट रोक्न खोजेकाे थियाे । साे क्रममा दुवै पक्षबीच झडप भएको थियो ।

ट्याक्टरमा बालुवा लिएर भारततर्फ जाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले रोक्न खोज्दा ५०-६० जना भारतीयहरूको समूहले सशस्त्र प्रहरी टोलीमाथि आक्रमण गरेको थियो । उनीहरुले सशस्त्र प्रहरीमाथि घरेलु हतियार र औजारबाट आक्रमण गरेका थिए । २२ जनाको टोली रहेको सशस्त्र प्रहरीमाथि ५०-६० जना तस्करहरुको समूहले आक्रमण गरेपछि स्थिति तनावग्रस्त बनेको थियो । तस्करहरुको आक्रमणबाट सशस्त्र प्रहरी जवान यादवको खुट्टा र हातमा चोट लागेको छ । उनको देब्रे हात भाँचिएको छ ।

त्यसैगरी अर्का प्रहरी जवान आयुष यादवको कानमा बेल्चाको प्रहारबाट गम्भीर रुपले चोट लागेको छ । उनको कानमा १८ वटा टाँका लगाइएको नारायणी अस्पतालका चिकित्सक डा. दीपक चौरसियाले जानकारी दिए ।

यता, सशस्त्र प्रहरी बल पर्साका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र खड्काले भारतीय नागरिकहरुले ओरिया खोलाबाट बालुवा लैजान खोजेपछि उनीहरुलाई रोकेपछि सामान्य झडप भएको बताए ।

ओरिया खोलाबाट भारतीयहरुले दैनिक लाखौँ रुपैया बराबरका हजारौं ट्रयाक्टरबाट बालुवा लैजाने गरेका छन् । विगत २० वर्षदेखि उक्त खोलाको स्वामित्वका बारेमा दुई देशबीच विवाद रहेको छ र भारतीयले खोलाबाट बालुवा निकाल्ने क्रम नरोकिएको बताइएको छ । खोलामा पसेर जथाभावी बालुवा उत्खनन गर्दा वातावरण समेत प्रभावित भइरहेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment