एमालेको नयाँ स्थायी समितिमा अटेनन् महिला

काठमाडौैं । नेकपा एमालेको गठन गरिएको नयाँ स्थायी समितिमा १८ सदस्यमध्ये महिला नेतृ अटाएका छैनन् । ३३ प्रतिशत महिला अटाउनुपर्ने भनिए पनि शुक्रबार गठन गरिएको नयाँ स्थायी समितिमा महिलाको उपस्थिती भएको छैन ।

एमालेमा लागेर त्याग, तपस्या गरेका सयौं महिला कमाण्डरहरु नरहेका होइनन् तर, तीप्रति नेतृत्वको विश्वास नभएको हो ? भन्ने अनुमान लगाउन सकिन्छ ।

नेकपा एमालेको ओली समूहतर्फको नयाँ स्थायी कमिटीमा अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीमा उपाध्यक्ष वामदेव गौतमलाई पनि समेट्नु भएको छ ।

उपाध्यक्ष गौतमलाई कमिटीमा समेटिए पनि वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहबाट कसैलाई पनि समेटिएको छैन ।

पूर्वमाओवादीबाट एमालेमा प्रवेश गरेर मन्त्री बनेकाहरु समितिमा समेटिएका छन् । जसअन्तर्गत गृहमन्त्री रामबहादुर थापा ‘बादल’, खराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, रघुवीर महासेठ रहेका छन् ।

नयाँ स्थायी कमिटीमा अध्यक्ष ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा बादल, विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, सत्यनारायण मण्डल, विष्णु रिमाल, छबिलाल विश्वकर्मा, पृथ्वी सुब्बा गुरुङ, केशब बडाल र पुष्पराज कँडेल रहेका छन् ।

बालुवाटारमा जारी महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी खोस्ने ढंगले कोही आए सम्भव नहुने बताउनुभएको छ । साथै, उहाँले नेपाल–खनाल पार्टीलाई एकताबद्ध बनाउनतिर नलागेको पनि बताउनुभएको छ ।

उहाँका अनुसार माधव नेपाल, योगेश भट्टराईलगायत नेताहरुसँग भेटघाट भए पनि पार्टी एकताबद्ध बनाउन कुनै गतिविधि देखिएन । आफू पार्टी एकताबद्ध बनाउन दिनरात लागे पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाललगायत नेताहरुको महत्वाकांक्षाकै कारण कम्युनिष्ट पार्टी विभाजित भएको पनि उहाँको भनाइ छ ।

चौधरीले जिम्मेवारी पाइनन्

शुक्रबार नेकपा एमालेको सुनसरी जिल्लाको इन्चार्जको जिम्मा जगदीश कुशवाहालाई दिइएपछि नेतृ भगवती चौधरीले बैठकको बीचमा उठेर हिँडिन् ।

बैठक चलिरहेकै बेला बालुवटारबाट बाहिरिएकी चौधरीलाई उनीसँगै बैठकमा उपस्थित भएका नेताहरुले बैठकबाट नबाहिरिन सम्झाइ बुझाइ गरे पनि उनले मानिन् । त्यसो त नेताहरुले बीचमै उठेर बैठक बहिष्कार नगर्न सुझाव दिँदै पुनः बैठकमा चौधरीलाई लगे । तर, १० मिनेट पनि बस्न सकिनन् नेतृ चौधरी अनि बाहिरिइन् बालुवाटारबाट ।

बाहिरिने क्रममा उनले भनिन्, ‘जे–जे गर्नु छ केपी ओलीले गर्छन् । मैले बोल्नु केहीँ छैन ।’

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment