जनताले जितेको दिन आज, १५औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । जनताले निरकुंक शाही शासनसँग मुकाबिला गरेर जितेको दिन आज । २०६२–६३ को जनआन्दोलनमार्फत् लोकतन्त्र बहाली भएको दिनको स्मरणमा प्रत्येक वर्ष वैशाख ११ गते लोकतन्त्र दिवस मनाइन्छ । यसपालि पनि जनताको जितको स्मरण गर्दै १५औँ लोकतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

नेपालको आफ्नै मौलिक ‘वसन्त क्रान्ति’को नामसमेत पाएको जनआन्दोलन २ (२०६२–६३) ले तत्कालीन राजा ज्ञानेन्द्रलाई घुँडा टेकाउन सफल भएको दिनको रुपमा वैशाख ११ लाई लिइन्छ । २०६२ चैत २४ गते सुरु भएको उक्त जनआन्दोलन २०६३ वैशाख ११ गतेका दिन राजाबाट खोसिएको जनताको अधिकार फिर्ता पाएसँगै अन्त्य भएको थियो ।

तत्कालीन सात राजनीतिक दल र सशस्त्र विद्रोही नेकपा (माओवादी)को संयुक्त आह्वानमा उक्त जनआन्दोलन भएको थियो । जसले अन्ततः निरंकुश शासन अन्त्य भई नेपालमा लोकतन्त्र र गणतन्त्रको मार्ग खुलेको थियो । तत्कालीन राजा ज्ञानेन्द्र शाहले वैशाख ११ गतेकै दिन विघटित प्रतिनिधिसभा पुनस्थापना गर्दै राजनीतिक दलले कोरेको मार्ग चित्रअनुसार अगाडि बढ्ने घोषणा गरेका थिए । जनताको नासो जनतालाई नै फिर्ता गरेको उक्त घोषणाअनुसार नै संसद पुनस्र्थापित हुँदै मुलुकमा लोकतन्त्र बहाली मात्रै गरेन, सोही सालको जेठ ४ गतेको प्रतिनिधिसभा बैठकले राजसंस्थालाई सदाका लागि बिदा गर्ने निर्णय समेत गरेको थियो । सोही निर्णयको जगमा मुलुकमा राजतन्त्र समाप्ती भई गणतन्त्रको आधारशिला खडा भयो ।

लोकतन्त्र स्थापनापश्चात संविधान सभाको निर्वाचन भएर लामै रस्साकसीपछि नेपालको संविधान २०७२ बन्यो । सोही संविधानको जगमा मुलुक हाल संघीय शासनमा गएकाे छ । हाल ७ प्रदेश र अधिकार सम्पन्न ७५३ स्थानीय तहमार्फत जनताले गाउँमै अधिकार तथा सेवा-सुविधा पाएका छन्, भलै याे व्यवस्था अझ मजबुत, जनमैत्री र प्रभावकारी हुन नसकेकाे हाेस् । नयाँ प्रणाली अवलम्बन गर्दा आएका असजिला र कमजोरीलाई क्रमशः सुधार गरेर लैजाने दिशामा सरकारहरू लागिपर्नुपर्छ । उथलपुथलकारी परिवर्तनको विन्दू बनेको वैशाख ११ नेपाली इतिहासमा अविस्मरणीय छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment