सुरु भयो राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन, गृहमन्त्री थापा मतदानस्थलमा



मकवानपुर । बागमती प्रदेशबाट रिक्त रहेको राष्ट्रिय सभा सदस्यको चयनका लागि मतदान सुरु भएको छ ।

बिहीबार बिहान हेटौंडा— ४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा बनाइएका तीनवटा बुथमा मतदान भइरहेको छ । बिहान ९ बजे सुरु भएको मतदान दिउँसो ३ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ ।

झरी परिरहकाले त्रिपालकाे व्यवस्था गरेर मतदान सुरू गरिएकाे हाे । पानी परिरहेकै बेला गृहमन्त्री तथा राष्ट्रिय सभा सदस्यका उम्मेदवार रामबहादुर थापा छाता अाेढेर मतदानस्थलमा पुग्नुभएकाे छ । साथै विपक्षी गठबन्धनका उम्मेदवार खिमलाल देवकोटा र नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङ, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल पनि मतदान स्थलमा पुग्नुभएकाे छ ।

राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका रामबहादुर थापा ‘बादल’लाई एमालेले आधिकारिक उम्मेदवारका रुपमा अघि सारेको छ । उता नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र एमालेकै माधव नेपाल समूहको संयुक्त गठबन्धनबाट खिमलाल देवकोटालाई प्रतिस्पर्धी उम्मेदवारका रुपमा अघि सारिएको छ । साथै अर्का उम्मेदवार नेपाल मजदुर किसान पार्टीका तर्फबाट कृष्णबहादुर तामाङ रहेका छन् । तापनि मुख्य प्रतिस्पर्धा गृहमन्त्री समेत रहेका बादल र संयुक्त गठबन्धनका देवकोटाबीच हुने देखिन्छ ।

मतदान स्थलमा बनाइएका तीनवटा बुथमध्ये ‘क’ बुथमा प्रदेशसभा सदस्यहरुले मतदान गर्नेछन् भने ‘ख’मा स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । त्यसैगरी कोरोना संक्रमित मतदाताहरुका लागि ‘ग’ बुथ बनाइएको हो । राष्ट्रिय सभा सदस्य चयनका लागि सम्बन्धित प्रदेशका प्रदेश सभा सदस्यहरु र उक्त प्रदेशभित्रका स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता रहने व्यवस्था छ ।

हाल बाग्मती प्रदेश सभामा कायम ११० सदस्य र बाग्मती प्रदेशअन्तर्गतका सबै गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी २३८ जना रहेका छन् । सबै लगाएर कुल ३४८ मतदाता रहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment