खोप खरिद प्रक्रियामा विचौलियाको चलखेल हुँदा खोप कार्यक्रमनै प्रभावित, सरकार लाचार

काठमाडौं । देशमा एकातर्फ कोरोना संक्रमितको दर दैनिक हजारौँको संख्याले बढिरहेको छ भने, अर्को तर्फ संक्रमणको जोखिम देखाएर सरकारले तत्कालका लागि खोप कार्यक्रम स्थगन गरेको छ । यति नै बेला खोप पर्याप्त नभएका कारण अगाडि बढाइएको खरिद प्रक्रियामा विचौलियाको चलखेल हुँदा खोप कार्यक्रमनै प्रभावित हुने आशंका बढेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत माघ १४ गते ३ महिनाभित्र सबै नेपालीलाई खोप लगाइसक्ने भाषण गरे । भारतले १० लाख डोज खोप अनुदानमा दिएलगत्तै नेपालले थप २० लाख डोज प्रतिखोप ४ डलरमा किन्ने सम्झौता गरेर भुक्तानी समेत गरिसकेको छ ।

जसमध्ये १० लाख खोप नेपालमा प्रयोग भइसकेको छ भने १० लाख खोप कहिले आइपुग्छ अन्योल छ । सो खोप खरिद गरिएको सेरुम कम्पनीका नेपाली एजेन्टका कारण खोप खरिद प्रक्रिया प्रभावित बन्न पुगेको स्वास्थ्य मन्त्रालय बताउँछ ।

सेरुमसँगै ५० लाख डोज खोप किन्नका लागि स्वास्थ्य सेवा विभागले प्रस्ताव तयार गर्दैगर्दा सेरुमका नेपाली एजेन्टहरु १० प्रतिशत कमिसन माग्न मन्त्रालय पुगेका थिए । करिब २५ दिन त उनीहरुसँग कुराकानी गर्दैमा बितेको स्वास्थ्यमन्त्री हृदयस त्रिपाठीको भनाइ छ ।

सार्वजनिक खरिद ऐनमा बाधा अड्काउ फुकाएर सरकारले पूरै पैसा लगानी गर्ने तर, कमिसन १० प्रतिशत नेपाली एजेन्टले सित्तैमा मागेको स्वास्थ्यमन्त्री त्रिपठीको दाबी छ । २० लाख खोप खरिदमा घुस्नबाट रोकिएपनि अहिले ५० लाख खोप खरिदमा कमिसन माग्दै नेपाली एजेन्ट जवर्जस्त घुस्न खोजेको मन्त्री त्रिपाठीको दाबी छ ।

सेरुम इन्स्टिच्यूटका नेपाली कमिसन एजेण्ट सुरज वैद्य र विजय दुगड हुन् । १० लाख डोज खोप पठाएपछि सेरुमले फागुनको दोस्रो साता स्वास्थ्य मन्त्रालयलाई सम्झौता भइसकेको १० लाख डोज खोप दिन आनाकानी गर्दै स्थानीय एजेण्टमार्फत् प्रक्रिया अघि बढाउन पत्र नै पठायो ।

५० लाख डोज खोप खरिद अघि बढाउँदा १० प्रतिशत कमिसन सुनिश्चित नभइ उनीहरू कुनै हालतमा खोप खरिद प्रक्रिया अघि बढ्न नदिन सक्रिय भएको मन्त्रालय स्रोत बताउँछ ।

सेरुमका नेपाल एजेन्ट भने २० लाख डोज खोप खरिद गर्दा आफूहरुले वैधानिक कमिशन छाडिदिएको दाबी गर्छन् । कमिसन पाउनु आफ्नो हक भएको उनीहरु बताउँछन् ।

अघिल्लो वर्ष कोरोना महामारीकै बेला सरकार निकट व्यवसायीले स्वास्थ्य सामग्री खरिदमा अनियमितता गर्दा कोरोनाविरुद्धको अभियान प्रभावित बनेको थियो । अहिले पुनःस्वास्थ्य मन्त्रालय र सत्तारुढ दल निकट व्यवसायीबिचको विवादले कोरोना महामारीविरुद्धको खोप अभियान प्रभावित बन्नु आपत्तिजनक विषय हो ।

तत्काल सरकारले कमिसन विवादको विषयमा निकास खोजेर खोप आयात गर्दै नेपाली नागरिकको जीवन रक्षामा गम्भीर हुन ढिला गरोस् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment