सपना रोका मगरसहित पक्राउ परेका छुटे, वडाध्यक्ष भन्छन्, ‘राम्रो काम गर्ने देखि सहेनन्’


काठमाडौं । बीबीसीको ‘टप १०० प्रभाशाली महिला’को सूचीमा परेकी सपना रोका मगरसहित ‘हाम्रो टिम नेपाल’का अभियन्ताहरु पक्राउपछि रिहा भएका छन् ।

अनामनगरमा काठमाडौं महानगरपालिकासँग समन्वय नगरी टहरा बनाएको आरोपमा सोमबार पक्राउ परेका उनीहरुलाई रिहा गरिएको छ ।

काठमाडौं महानगरपालिकाले अभियन्ताले निषेधाज्ञामा मजदुरलाई खाना खुवाउन बनाएको टहरा पनि हटाइदिएको छ । यस विषयमा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले सार्वजनिक जग्गालाई खुला छाड्ने र हरियाली पार्क निर्माण गर्नका लागि टहरा भत्काइएको बताए ।

उनका अनुसार सार्वजनिक जग्गामा बनाएका टहरा महानगरपालिका व्यवस्थापनको निर्णयअनुसार नै हटाइएको हो ।

झन्डै एक वर्षदेखि नै ‘हाम्रो टिम नेपाल’ समूहका साथीहरूले त्यहाँ टहरा बनाएको प्रमुख प्रशासकिय अधिकृत ज्ञवालीले बताएका छन् । हरियाली पार्कमा बनाउन तयारी सबै पूरा भएको अवस्थामा पटक पटक त्यहाँबाट हट्न भनिए पनि नहटेको पनि उनको भनाइ छ ।

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख एसपी धनपती सापकोटाले भने बाध्य भएकार टहरा हटाउनुपरेको बताएका छन् । उनका अनुसार पटक–पटक टहरा हटाउन आग्रह गर्दा अटेर गरेपछि बाध्य भएर हटाएको उनले बताए ।

अभियन्ताहरुको काममा आफ्नो विमती नरहेको तर अभियानका नाममा सरकारी जग्गा कब्जा गरेर हरियाली पार्क बनाउने काममा भने बाधा देखिएको उनको भनाई छ । यसरी टहरा हटाउन आग्रह गर्दा पनि अटेर गरेपछि बाध्य भएर आफूहरुले कदम चालेको उनले पुनः दोहोर्याए ।

अभियन्ता सपना रोका मगर भने महानगरपालिकाले सहमतीविपरीत टहरा भत्काएको बताएकी छन् । उनका अनुसार अनामनगरको पूर्वी गेट नजिकै रहेको रहेको खाली जग्गामा अस्थायी संरचना बनाउन वडा नं. २९ सँग सहमति गरिएको थियो ।

सहमतीमा निषेधाज्ञा खुलेको एक महिनाभित्र संरचना हटाइसक्ने भनिएको थियो । तर, सहमतीविपरीत सहयोग सामग्रीहरु अलपत्र हुने गरी सोमबार संरचना भत्काइएकोमा उनले दुःख व्यक्त गरे ।

त्यसो त वडाध्यक्ष कुश ढकाल पनि अभियन्ताहरुले लकडाउनमा मजदुरहरुलाई खाना खुवाएर एकदमै राम्रो काम गरेको बताउँछन् । उनका अनुसार लिखित रुपमै त्यो स्थान अभियन्ताहरुरुलाई दिइएको हो ।

उनले निषेधाज्ञा खुल्नेवित्तिकै छाड्नुपर्ने सर्त राखिए पनि सबै मिलेर उनीहरुले गरेको राम्रो कार्य देखि नसकेको बताए । उनका अनुसार वरिपरिका समाजसेवी, सरकार र मेयर नै लागेर राम्रो काम गर्नेलाई देखि सहेनन् ।

तस्बिर : अनिम नेपाली

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment