असार १५ : वर्षेनी खेतमा मन्त्रीका नयाँ-नयाँ उपद्रो !


काठमाडौं । असार १५ आउनेवित्तिकै खेत कुनै चलचित्रको सुटिङ भएजस्तो देखिन्छ । वास्तविक किसान पर्दा पछाडि, नक्कली किसानहरु पर्दा अघि छाएर भाइरल हुन्छन्।

यसभन्दा अघिका वर्षका असार १५ अर्थात् राष्ट्रिय धान दिवसका दिन मन्त्रीहरु नयाँ नयाँ उपद्रो मच्चाएर चर्चामा छाए । कृषिमन्त्री हरिप्रसाद पराजुलीदेखि अहिलेसम्म आइपुग्दा पनि नयाँ घटनाले प्रवेश पाइरहेका छन् ।

अहिले नेपाल कोरोनाको कहरमा छ । उपत्यकाका तीनै जिल्ला लकडाउन तर, सार्वजनिक सवारीमा खुकुलो गरिएको छ । तैपनि भीडभाड गर्न मनाहीँ छ । यहीँ कहरका बेला एमाले नेता महेश बस्नेतसँग मंगलबार भक्तपुर पुगेर एमाले प्रवक्ता एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवाली धान रोप्न पुगे ।

तर, राष्ट्रिय धान दिवसका दिन नाटकजस्तै देखियो दृश्य केहीबेरमा मञ्चमा रुपान्तरण भयो । मञ्चमा उक्लिएका उनले धानको उत्पादनभन्दा बेसी केपी शर्मा ओलीको गुणगाण गाए ।

ओली सरकारले नयाँ युगको सुरुवात गरेको भन्दा कार्यकर्ताले ताली बेस्सरी पिटेका थिए । उनीसँगै बाउसे बनेका महेश बस्नेतले पनि थुप्रै कुरा भने । यसरी नै यसवर्षको राष्ट्रिय धान दिवसमा कृषि मन्त्रीको सट्टा पूर्वमन्त्री ज्ञवाली पनि भाइरल बने ।

अब कुरा गरौँ, २०७२ सालको । त्यतिबेला तस्वीरमा छत्रे टोपी लगाउने कृषि मन्त्री हरिप्रसाद पराजुलीको । कृषि मन्त्री हुनेमा सबैभन्दा बढी चर्चामा छाउने पहिलो मन्त्री हुन् उनी। कृषि विभागले धान दिवसको अबसरमा काठमाडौंको मुलपानीमा आयोजना गरेको त्यसबेलाको कार्यक्रममा मन्त्री पराजुलीले अश्लिल हर्कत देखाएका थिए।

बिहान ११ बजे उद्घाटनका लागि बोलाए पनि मन्त्री पराजुली ३ बजे पुगे । त्यसपछि १५ मिनेट भाषण गरे । भाषणपछि मन्त्री हिलो खेतमा पसेर बाउसे बने।

हिलो खेतमा पसेको केही बेरमै मन्त्री पराजुलीले उपद्रो गरिहाले । उनले रोपाइँमा रमाइलो गर्ने नाममा उनी कार्यक्रममा सहभागी महिलाहरूलाई जबरजस्ती अंगालो हाल्न पुगे । महिलाको संवेदनशिल अंगमा जर्बजस्ती टाउँको र मुख पुर्याउन थाले ।

मन्त्रीलाई महिलाहरुले गाली गर्नसम्म गरे तर, उच्च ओहोदामा बसेकालाई कस्ले छुन सक्ने ? चिनजानकै महिला भनिएकाले उनले उन्मुक्ती पाए । तर, पछि त्यसै काण्डले उनको मन्त्री पद गुम्यो । अहिलेसम्म उनी राजनीतिको मुलधारमा फर्कन सकेका छैनन् ।

त्यसको ठीक एक वर्षपछिको धान दिवस पनि झनै चर्चित बन्न पुग्यो । कृषि मन्त्री हरिबोल गजुरेलले हरिप्रसाद पराजुलीले हिलोमा मच्चाएको उपद्रो देखेर होला उनी हिलो खेतबाट टाढै रहने प्रयत्न गरे । त्यसपछि उनले गमलामा धान रोपेरै त्यस वर्षको धान दिवस मनाए ।

अहिले पनि उनले गमलामा करुवाले पानी हाल्दै माटो हिल्याएर धान रोपेको यो दृष्यले नेपालको कृषि क्षेत्रमा कुरी कुरी लागिरहेको छ ।

अहिलेको असार १५ मा भने कोरोनाका कारण १५ जना भन्दा धेरै मानिसहरु जमघट बन्द गरिए पनि पूर्वमन्त्रीसहित सयौँको संख्यामा खेतको हिलोमा रमाइलो गरेको दृश्य देखियो ।

मन्त्रीले प्रत्येक वर्ष नेपाल धानमा आत्मनिर्भर बन्छ भन्नु र बगेको खोला फर्केर नआउनु उहीँ देखिन्छ । त्यसो त कृषि उब्जाउने कृषकका समस्या एकातिर ज्यूँका त्यूँ छन् तर, मन्त्रीहरु भने नयाँ नयाँ उपद्रो गर्न पछि हट्दैनन् ।

भारतबाट वर्षेनी ३० अर्बभन्दा माथिको चामल आयात हुन्छ । सरकारकै तथ्यांक अनुसार नेपालको रोपाई हुने जमिनमध्ये ६३ प्रतिशत खेत आकासे पानीको भरमा रोप्नुपर्छ ।

तर, मन्त्रीहरुद्वारा यहाँ गमला धान रोपेर, फोटो खिचेर धान दिवस मनाइन्छ । तर, खेतको हिलोमा धान उब्जाउने चेष्टा हुँदैन । जय, राष्ट्रिय दिवस !

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment