
- युवराज आचार्य,
झापा । कोरोना भाइरस विरुद्धको भेरोसिल खोप लुकाइराखेको अवस्थामा झापा बिर्तामोड नगरपालिकाका स्वस्थ्य प्रमुख पक्राउ परेका छन् । शुक्रबार बिर्तामोडस्थित होटल टाएमलेस मोमेन्टमा लुकाएको दुई सय डोज खोपसहित नगरका जनस्वास्थ्य प्रमुख ओम खड्का फेला परेका हुन् ।
कोरोनाविरुद्धको खोप मापदण्ड विपरित आफू निकटलाई मात्र दिने, नजिकका व्यक्तिलाई होटलमा बोलाएर समेत खोप लगाउने गरेको गुनासो बढेपछि स्थानीय युवाहरूले उनलाई निगरानी राखेका थिए । जसमा प्रमुख खड्कासहित लुकाएर राखिएको खोप पनि बरामत भएको छ ।
होटेलको दराजमा लुकाएर राखिएको अवस्थामा खोप फेला परेपछि खड्काले सिलबन्दी कार्टुन फोडेर खोप अन्यन्त्रै लुकाएका थिए । तर, स्थानीय केही युवालाई शंका लागि खोजी गर्दा होटलको र्याकमा उक्त खोपको कार्टुन फेला परेको हो ।
खोपसहित जनस्वास्थ्य प्रमुखलाई युवाहरुले होटलमा फेला पारेपछि प्रहरी टोली समेत घटनास्थलमा पुगेको थियो । खड्काले भने आफू होटेलमा नै क्वारेन्टाइनमा रहेकाले खोप ल्याइएको दाबी गर्दै आफ्नो बचाउ गरेका छन् तर होटलको अभिलेखमा भने खड्का आज मात्रै इन्ट्री भएको पाइएको छ ।
बिर्तामोडमै औषधिको होलसेल पसल समेत गर्दै आएका खड्काले कोरोना संक्रमण शुरू भएयता आफ्नै फर्ममा लाखौं मूल्यका सामग्री नियमविपरीत नगरपालिकालाई बिक्री गरी अनियमितता समेत गर्दै आएको स्थानीयको आरोप छ ।
खोप जस्तो गम्भीर विषय होटलमा लुकाउन ल्याएको भन्दै स्थानीयले बिर्तामोडका स्वास्थ्यकर्मीलाई कडा कारबाहीको माग गरेका छन् । झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमल्सिनाले प्रहरीले खोप बरामद गरिसकेको र सो विषयमा छानविन थालिएको बताए ।
0 comments:
Post a Comment