एजेन्सी । अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा कोलम्बियालाई ३-२ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा पुगेको हो ।
बुधबार बिहान भएको खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएकाे थियाे । निर्धारित समय सकिएपछि खेल सिधै पेनाल्टी सुटआउटमा लगिएकाे थियाे ।
पेनाल्टी सुटआउटमा अर्जेन्टिनाका लागि गोलरक्षक इमिलियानो मार्टिनेज नायक बने । उनले कोलम्बियाको तीन वटा प्रहार बचाए ।
गोलरक्षक इमिलियानोले डाभिन्सन सान्चेज, यारी मिना र इडविन कोर्डोनाको प्रहार बचाएका थिए । कोलम्बियाको लागि जुआन कोर्डाडोले र मिगुइल बोर्जा गोल गरेका थिए ।
टाइब्रेकरमा अर्जेन्टिनाको लागि कप्तान मेस्सी, लोउटारो मार्टिनेज र लियान्द्रो ड्यानियल पारेडेसले गोल गरे । रोड्रिगो डि पउलको प्रहार भने आकासिएको थियो ।
त्यसअघि सातौ मिनेटमा लोउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । उनले कप्तान लियोनेल मेस्सीले पेनाल्टी बक्सबाट दिएका पासमा गोल गरेका थिए ।
६२औं मिनेटमा कोलम्वियाले बराबरी गोल फर्कायो । लुइस डियाजले इडविन कार्डाना पासमा गोल गर्दै खेल १-१ को बराबरी बनाएका थिए ।
फाइनलमा अर्जेन्टिनाले ब्राजिलसँग खेल्नेछ । खेलको ११ जुलाईमा हुने छ । साविकको विजेता ब्राजिलले मंगलबार बिहान पेरुलाई १-० ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।
कोलम्बिया र पेरुले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ ।
0 comments:
Post a Comment