देउवा प्रधानमन्त्री भएको एक महिना पूरा, भागबण्डा नमिल्दा सरकार अधुरै !


काठमाडाैँ । कांग्रेस महाधिवेशनको अन्योल कायमै रहेकाले मन्त्रिपरिषद्ले कहिलेसम्म पूर्णता पाउँछ भन्नेमा अझै अनिश्चित छ ।

सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएपछि मन्त्रिपरिषद्ले पूर्णता पाउने गठबन्धन दलका नेताहरुले बताउँदै आएका थिए । तर साझा कार्यक्रम सार्वजनिक भइसक्दासमेत मन्त्रिपरिषद्लाई पूर्णता पाउन सकेको छैन ।

पछिल्लोपटक प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस महाधिवेशनबारे टुङ्गो लगाएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने बताउनुभएको छ । तर हिजोदेखि सुरु भएको कांग्रेस बैठकले महाधिवेशनबारे निर्णय गर्न सकेको छैन । कांग्रेस महाधिवेशनको अन्योलसँगै मन्त्रालय भागबण्डा तथा उपप्रधानमन्त्री बनाउने या नबनाउने भन्ने विवादले पनि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो ।

यस्तै गठबन्धनका दलहरुमा मन्त्री बन्न खोज्नेहरु धेरै भएपछि नेतृत्वलाई मिलाउन समस्या भएको छ । कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल तथा कृष्ण प्रसाद सिटौला समूहलाई कसरी समेट्ने विषयमा समझदारी हुन सकेको छैन ।

नेकपा माओवादी केन्द्रले पनि सरकारमा जाने मन्त्री टुङ्गो लगाउन सकेको छैन । आधिकारिकता विषय अदालतले टुङ्ग्याएपछि जसपा मन्त्री छान्ने विषयमा केन्द्रित भए पनि विवाद बाँकी नै छ । एमालेको माधव नेपाल समूह सरकारका जाने या नजाने अझै टुङ्गो लागेको छैन ।

लामो समय विभागीय मन्त्री अभावमा सरकारमा कतिपय काम कारबाही रोकिन पुगेका छन् । एक महिनाअघि प्रधानमन्त्रीमा नियुक्त देउवाको १७ वटा मन्त्रालय सम्हाल्दै आउनुभएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment