भारतमा ७५ औँ स्वतन्त्रता दिवस मनाइँदै, मोदीले भने- ‘देश विभाजनको पीडा बिर्सन सकिँदैन’


काठमाडौँ । छिमेकी मुलुक भारतमा आज ७५ औँ स्वतन्त्रता दिवस मनाइँदैछ । स्वतन्त्रता दिवसको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीलाई बधाईं एवं शुभकामना दिएका छन् ।

स्वतन्त्रता दिवसको अवसरमा आयोजित एक समारोहमा प्रधानमन्त्री मोदीले लाल किलाबाट राष्ट्रलाई सम्बोधन गरेका छन् । उनले स्वतन्त्रता हाम्रा लागि उत्सव रहेको बताउँदै तर विभाजनको त्रासलाई बिर्सन समेत नसकिने बताए । ‘देश विभाजनको पीडा कहिल्यै बिर्सन सकिँदैन,’ उनले भने ।

‘घृणा र हिंसाका कारण हाम्रा लाखौं दिदीबहिनी र भाइहरु विस्थापित हुनुपरेको थियो र ज्यान समेत गुमाउनु परेको थियो,’ भारत टुक्रिँएर पाकिस्तान छुट्टिएको दिनको क्षण स्मरण गर्दै मोदीले भने, ‘ती मानिसहरुको संघर्ष र बलिदानको स्मृतिमा १४ अगस्तलाई ‘विभाजन विभिषीका स्मृति दिवस’ को रुपमा मनाउने निर्णय गरिएको छ ।’

अंग्रेजको पञ्जाबाट भारत स्वतन्त्र भएको दिनका रुपमा अगष्ट १५ का दिन त्यहाँ स्वतन्त्रता दिवस मनाउने गरिन्छ ।

प्रधानमन्त्री मोदीले थप भने, ‘यस दिनले हामीलाई भेदभाव, दुश्मनी र दुराचारको विष अन्त्य गर्न मात्र प्रेरित गर्दैन, तर यसले एकता, सामाजिक सद्भाव र मानवीय भावनाहरुलाई पनि बलियो बनाउनेछ ।’

सन् १९४७ को अगष्ट १५ मा बेलायत साम्राज्यबाट भारत मुक्त भएको थियो । भारतमा शासन गरिरहेको बेलायती सरकार सन् १९४७ मा आजकै दिन भारत छोडेर गएपछि भारत बेलायती मुक्त भएको हो ।

भारतको स्वतन्त्रता दिवसको अघिल्लो दिन हिजो (अगस्ट १४) मा पाकिस्तानले ७५औं स्वतन्त्रता दिवस मनाएको छ । त्यसअवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटमा पनि १४ अगस्ट अर्थात भारत र पाकिस्तानको विभाजन भएको दिनलाई आफूहरूले विभाजन विभीषिका स्मृति दिवसको रुपमा मनाउने निर्णय गरेको बताएका थिए ।

यस ७५ औं स्वतन्त्रता दिवसको अवसरमा लाल किलाको प्राचीरबाट भारतको युवा पुस्ताका खेलाडीहरुको सम्मानमा ताली बजाउन अपील गरिएको थियो । मोदीले भने, ‘यी युवाहरूले भारतको नाम मात्रै चम्काएनन्, जनतालाई प्रेरित गर्ने काम पनि गरेका छन् । भारतको हरेक कुनामा, हरेक अवधिमा, अनगिन्ती मानिसहरु बनेका छन् र देशलाई अगाडि बढाएका छन्। म त्यस्ता हरेक व्यक्तिलाई नमन गर्दछु।’

साथै उनले कोरोना महामारीमा खट्ने डाक्टर, नर्स, प्यारामेडिकल स्टाफ, सरसफाइ कर्मचारी र भ्याक्सिन निर्माताहरुलाई पनि श्रद्धापूर्वक सम्मान गर्नु जरुरी रहेको बताए ।

कोरोना महामारीका कारण, लगातार दोस्रोपटक भारतले सबैभन्दा कम मानिसहरुको उपस्थितिमा आफ्नो ७५ औँ स्वतन्त्रता दिवस मनाइरहेको छ । अघिल्लो साल पनि कोरोनाकै कारण सीमित मानिसहरुको उपस्थितिमा भारतले ७४ औँ स्वतन्त्रता दिवस मनाएको थियो ।

स्वतन्त्रता दिवसलाई ध्यानमा राखी यसपालि राजधानी दिल्लीमा कडा सुरक्षा व्यवस्था गरिएको छ, संवेदनशील क्षेत्रहरुमा एन्टीड्रोन सुरक्षा प्रणाली लागू गरिएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment