नेपाल कठिन प्रतिद्वन्द्वी : भारतीय कप्तान सुनिल

 

काठमाडाैं । भारतीय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले नेपालविरुद्ध आफूहरुलाई खेल्न कठिन हुने प्रतिक्रिया दिएका छन् ।

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका भारतीय टोलीका कप्तान क्षेत्रीले पत्रकारसँग बोल्दै नेपाली टिम कठिन रहेको र नेपालसँग खेल्न पाउँदा खुसी लागेको बताए । ‘पहिला पनि हामीले नेपालसँग खेलेको थियौ । नेपाल कठिन प्रतिद्वन्द्वी हो,’ नेपाली मुलका भारतीय कप्तान सुनिलले भने ।

कप्तान सुनिलले यस मैत्रीपूर्ण खेल आयोजना गरेको साथै आफूहरुलाई राम्रो हस्पिटालिटी दिएकोमा एन्फा तथा सरकारलाई धन्यवाद दिए । ‘नेपाल सरकार र नेपाल एफए (एन्फा) लाई धन्यवाद । यस्तो अवस्थामा पनि हामीलाई राम्रो हस्पिटालिटी दिएको छ,’ ३७ बर्षीय कप्तान सुनिलले भने ।

कप्तान सुनिलले आफ्नो टोलीले साफ च्याम्पियनसिपको तयारी राम्रोसँग गर्न नपाएको र यो मैत्रीपूर्ण खेल त्यसैको लागि राम्रो तयारी हुने बताए । ‘हामीले साफको तयारी गर्न पाएका छैनौं । केटाहरु एएफसी कपमा थिए । अहिले हाम्रो देशमा लिग छैन । दुईवटा टिममात्र एएफसीको प्रतियोगिताका लागि तयारीमा छन् । अरु सबै खेलाडी आराममा छन्,’ भर्खरै माल्दिभ्सको मालेमा एएफसी कप खेलेर फर्किएका सुनिलले भने ।

यस्तै कप्तान सुनिलले दुई मैत्रीपूर्ण खेलनै साफको तयारी हुने र आफूहरु मेहनत गरि आफ्नो तर्फबाट शतप्रतिशत दिएर मैदानमा उत्रने बताए ।

‘अहिले कोभिडका कारण अत्यन्तै कठिन परिस्थितिमा हुँदा साफ च्याम्पियनसिपका लागि मैत्रीपूर्ण खेलले हामीलाई धेरै सहयोग पुग्नेछ । हामी पूरा मेहनतका साथ आफ्नो तर्फबाट शतप्रतिशत दिएर मैत्रीपूर्ण खेलमा उत्रिनेछौं । त्यसपछि उपाधि जित्ने लक्ष्यसहित हामी साफ च्याम्पियनसिपका लागि माल्दिभ्स जानेछौं,’ सुनिलले थपे ।

नेपाल र भारतले १७ र २० भदौमा दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्दैछ । खेल साँझ साढे ५ बजे हुने बताइएको छ । दर्शकको बिषयमा भने अखिल नेपाल फुटबल संघ (एन्फा) सिसिएमसीको स्वीकृतिको पर्खाइमा छ । दुबै मैत्रीपूर्ण खेललाई फिफाले मान्यता दिएको छ । यस खेलले फिफा वरियता समेत प्रभाव पार्नेछ ।

नेपालसँगको दुई मैत्रीपूर्ण खेलको लागि प्रशिक्षक इगोर स्टिम्याकले गत बुधबार २५ सदस्यीय टोली घोषणा गरेका थिए । भारतले यसअघि फिफा विश्वकप छनोट खेलेकै टोलीलाई निरन्तरता दिएको छ । दुई मैत्रिपूर्ण खेलको लागि ३७ सदस्यीय टोली नेपाल आएको हो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment