कांग्रेस महाधिवेशन : २१ जिल्लाका वडा अधिवेशन अन्योलमा


काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले ५६ जिल्लामा वडा अधिवेशन धमाधम भइरहेको छ । धेरै जिल्लामा वडा अधिवेशन सर्वसम्मत भएका छन् । केहीमा भने निर्वाचनमार्फत वडा कमिटी चुनिएका छन् ।

७७ जिल्लामध्ये २१ जिल्लामा भने कांग्रेसको वडा अधिवेशन तत्काल नहुने भएको छ । नेपाली कांग्रेसले २३ भदौभित्र वडा अधिवेशन सम्पन्न गरी क्षेत्रीय प्रतिनिधि निर्वाचित छान्ने र २७ भदौमा पालिका अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । तर, २१ जिल्लामा क्रियाशील विवाद टुंग्याउन बाँकी रहेकाले ती जिल्लामा वडा र पालिका अधिवेशन दुवै प्रभावित बन्ने भएको हो ।

विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम नेपाल, सुनिलबहादुर थापा राप्रपा र अखण्ड नेपाल पार्टीबाट आएकाहरूको क्रियाशील सदस्यता विवादका कारण २१ जिल्लामा नेपाली कांग्रेसको वडा अधिवेशन नहुने निर्वाचन समितिका संयोजक महादेव यादवले जानकारी दिए । ‘लोकतान्त्रिक फोरम अहिले पहिले पठाएको नाम र अहिले क्रियाशील सदस्यता नवीकरण गर्दा पठाएका नामको छानबिन हुँदैछ । जसले गर्दा विवाद टुंगो लगाउन केही समय लाग्ने भएकाले २३ भदौभित्र २१ जिल्लामा वडा अधिवेशन सम्भव छैन,’ यादवले  भने ।

खासगरी प्रदेश १ र २ मा क्रियाशील विवाद टुंगिन बाँकी भएको उनले बताए । ‘आजै विवाद टुंग्याए पनि निर्वाचन अधिकृत तोक्न र जिल्ला जिल्ला पठाउन, चुनावी सामग्री छपाइ गर्न पनि सम्भव छैन, त्यसैले २१ जिल्लामा २७ भदौमा हुने पालिका अधिवेशनसमेत हुने सम्भावना छैन,’ यादवले भने ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment