आजबाट मुलुकभर कोरोनाबिरुद्धको खोप लगाइँदै, कुन जिल्लामा कुन उमेर समूहले पाउँछन ?

काठमाडौं । सरकारले आजबाट कोरोना भाइरसबिरुद्धको पहिलो डोज खोप दिने भएको छ । आजबाट ११ दिनसम्म चल्ने अभियानमा कोरोनाबिरुद्धको भेरोसेल खोप दिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो अभियान असोज १५ गतेसम्म रहने छ । यो पटकको खोप अभियानमा विभिन्न जिल्लालाई तोकेर चार उमेर समूहमा विभाजन गरि खोप दिइने मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताउनु भयो ।

जसमा ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुलामा १८ वर्षमाथिका खोप लगाउन छुटेका नागरिकलाई उपलब्ध गराइने अधिकारीले बताउनुभयो ।

काभ्रे र चितवनका ३५ वर्षमाथिका खोप लगाउन बाँकी नागरिकलाई र १८ वर्ष माथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप दिइने छ । त्यसैगरी काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछामका ४० वर्ष माथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप उपलब्ध गराइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तैगरी अन्य बाँकी ५८ जिल्लाहरु मनाङ, मुस्ताङ र रुकुमपूर्व बाहेकका जिल्लामा भने ३५ वर्षमाथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप दिइने बताइएको छ ।

साथै यसअघि छुटेका अग्रपङ्क्तिमा खटिने, अत्यावश्यक सेवा, शिक्षक, पर्यटकीय क्षेत्र, होटल व्यवसायमा काम गर्ने व्यक्तिलाई खोप दिइनेछ । यो पटक पहिलो डोज खोप लगाउने नागरिकहरुले दोस्रो डोज खोप कात्तिक ४ देखि १४ गतेसम्म लगाउने व्यवस्था गरिने मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा भेरोसेलको दोस्रो डोज आजैबाट

काठमाडौं उपत्यकामा भने आजैबाट भेरोसेलको दोस्रो डोज खोप दिइने भएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख बद्रीबहादुर खड्काका अनुसार आजबाट ३ दिनसम्म उपत्यमाका भेरोसेलेको दोस्रो मात्रा खोप दिइने छ ।

अन्य जिल्लाहरुमा पहिलो मात्रा खोप दिइने भएपनि यसअघि पहिलो मात्रा खोप लगाएका दुई लाख ४० हजार नागरिकका लागि दोस्रो डोज खोप लगाउने व्यवस्था गरिएको प्रमुख खड्काले बताउनु भयो ।

काठमाडौंमा खोप लगाउनुका लागि १४५ खोप केन्द्र तय गरिएको पनि प्रमुख खड्काले बताउनु भयो । दोस्रो डोज खोप ३ दिनसम्म दिएर मात्रै पहिलो डोज खोप दिइने मन्त्रालयको भनाइ छ । त्यसपछि पहिले डोजको कार्यक्रम रहने बताइएको छ । उक्त पहिलो डोजको खोप काठमाडौं उपत्यकामा यो पटक १ लाख नागरिकलाई मात्रै दिइने मन्त्रालयले बताएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment