जनपथ र सशस्त्र प्रहरीकै सेटिङमा हुन्छ सीमा-नाकामा खुलेआम तस्करी

 

कञ्चनपुर । भनिन्छ-  भन्सारमा बस्नेहरुले संसार देख्न पाउछँन् रे । नेपालमा पनि सबैभन्दा आकर्षक र सबैका लागि लोभलाग्दो ठाउँ मानिएको भन्सार भने धेरैका लागि कमाउ-स्वर्ग नै बन्ने गरेको छ । तर अहिले नेपालमा खुला सीमा नै भन्सार बन्न थालेको छ । भन्सार कार्यालयमा हुने गरेको बेथितिको त कुरै छाडौं । अहिले वेथिति मौलाएको क्षेत्र बनेको छ खुल्ला सीमानाका अर्थात भन्सारको अर्को रुप । नेपालको सीमावर्ती क्षेत्रहरुमा खुलेआम तस्करी हुन्छ । यो न्यूनीकरण हुनुको सट्टा मौलाएको छ बरु ।

सीमा सुरक्षामा बसेकाहरुका लागि खुला सीमाबाट हुने तस्करी कमाउ धन्दा नै बनेको छ । राज्य कोषमा दाखिला हुने धेरै रकमहरु कर्मचारीको गोजीमा नै जम्मा हुने गरेका छन् । पक्राउ गरिएका सामानहरु कता हराउँछन या तिनीहरुलाई कुन सेटीङमा मिलाएर छाडिन्छ । त्यो हेर्न बिभिन्न शहरका नजिक रहेका खुला सीमामा हेर्न गए पुग्छ । कञ्चनपुर जिल्लाको पुर्नवास नगरपालिका र बेलौरी नगरपालिका क्षेत्रका खुला नाका पनि यही उदाहरणका केन्द्र बनेका छन् ।

तस्करीबाट दैनिक लाखौँ मूल्यका सामान भित्रिँदै

भारतसँग खुला सीमानाका रहेको कञ्चनपुरको दक्षिणीमा भारतबाट ठूलो परिमाणमा विभिन्न मालसामानहरु नेपाल आयात हुने गरेका छन् । जिल्लाका दक्षिणी क्षेत्र पुर्नवास नगरपालिका र बेलौरी नगरपालिकाका विभिन्न स्थानमा रहेका खुल्ला नाकाबाट लामो समयदेखि तस्करी हुदै आएको छ । विगत लामो समयदेखि प्रहरीकै सेटीङ्गमा राजश्व छली गरेर विभिन्न माल सामानहरु नेपाल आयात हुँदै आएका छन् । जसको कारण एकातिर राज्यकोषमा जम्मा हुने ठूलो राजश्व घाटा हुँदै गएको छ भने अर्को तर्फ नेपाली व्यापारीहरु विस्थापित हुन थालेका छन् ।

 प्रहरी नै सेटिङमा

नेपाल प्रहरी र शसस्त्र प्रहरीकै सेटीङ्गमा भारतबाट दैनिक उपभोग्य वस्तुहरु दाल, चामल, चिनी, तेल, साबुन, सोडा, लुगा कपडा खुले आम नेपाल आयात हुँदै आएका छन् । यो संगै यी नाकाहरुबाट कुखुरा, अण्डा,पेयपदार्थ (कोक, डिउ, मिरीन्डा, स्प्रईड) हार्डवेयरका सामान, विभिन्न मेसिनरी सामानहरुका पार्ट, गाडीका पार्टहरु लगायत लाखौका सामानहरु दैनिक नेपाल भित्रिने गर्दछन् । यस्ता कार्य नियन्त्रणको लागि स्थानीय प्रशासनले कुनै चाँसो नदेखाएको स्थानीय व्यवारीको गुनासो छ ।

यस क्षेत्रमा खटीएका प्रहरीकै मिलेमतोमा तस्करी हुने गरेको उनीहरुको आरोप छ । दैनिक लाखौँ मूल्य बराबरका सामान भित्रिने गरेका छन । तर सीमा क्षेत्रमा सुरक्षार्थ खटिएका सुरक्षा बल भने नदेखे झै गर्दै आएको स्थानीयको व्यापारीले बताए ।

जनपथ र सशस्त्रले महिनावारी बुझ्ने गरेको आरोप

बिषेश गरी रातको समयमाबढी चोरी निकासी हुने गरेको पाईएको छ । रातको समयमा सीमा पारि भारतीय बजारमागई विभिन्न खाले प्रतिबन्धित सामानहरु लागू औषधहरु समेत यि नाकाहरुबाट ओसार पोसार गर्ने गिरोह सक्रिय रहेको छ । तर प्रहरीले यस्ता अवैध कामगर्नेहरुसंग महिनावारी ठूलो रकमबुझ्ने गरेकोले यस्ता गतल कार्यले प्रश्रय पाएको स्थानीयको आरोप छ ।

सुरक्षाकर्मीहरू हप्ता असुलीमा पनि सक्रिय

यतिमात्रै नभएर स्थानीयका अनुसार गस्तीमा खटिने प्रहरीले हप्ता असुली गर्दै आएका छन् । यो क्षेत्रमा रहेका शसस्त्र प्रहरी र नेपाल प्रहरीको चौकी ईन्र्चाज भएर जानलाई पहिला नै मोल मोलाई हुने गर्दछ । उनीहरुले जिल्ला ईन्र्चा प्रहरी उपरीक्षक (एसपी) देखि प्रदेश प्रहरी प्रमुख प्रहरी नावय महानिरीक्षक (डिआईजी) लाई रिझाउने गरेको चर्चा हुने गरेको छ । नाकाहरुमा शसस्त्र प्रहरीका बोडर आउट पोष्ट (बिओपी) स्थापना भएपछि सीमा क्षेत्रमा हुने अपराधिक कृयाकलाप रोकिनु पर्नेमा झनै मौलाएको स्थानीयवासी बताउछन् ।

स्थानीय प्रशासन मौन

प्रहरीले यस किसिमको हर्कत देखाउँदा समेत स्थानीय प्रशासनले रोकथामका लागि कुनै भुमिका नदेखाएपछि प्रशासनको मौनतामाथि नै प्रश्न उठ्न थालेको छ ।

नाकामा हुने यस किसिमका अवैध ओसार पोसारले यस क्षेत्रमा व्यापार शून्य जस्तै भएको छ । जसले गर्दा यहाँका अधिकांश व्यापारीहरु व्यवसायबाटै पलायन भईरहेका छन् ।

 न्युज२४ नेपालबाट साभार

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment