कांग्रेस महाधिवेशन प्रतिनिधिमा इलामबाट माधव चम्लागाईंको बलियो संभावना


इलाम । डेढ दशक बढी समयदेखि सक्रिय पत्रकारितामा रहेका माधव प्रसाद चम्लागाईंले नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत इलामबाट महाधिवेशन प्रतिनिधिका रुपमा आफूलाई बलियो उम्मेदवारका रुपमा प्रश्तुत गरेका छन् । 

अपाङ्गता भएका व्यक्तिले पनि सगरमाथालगायतका ६५ सय भन्दा माथिका हिमाल आरोहण गर्न पाउने अधिकार दिलाएर पृथक परिचय बनाएका चम्लागाईले नेपाली कांग्रेस इलामबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिंदै विजयी हुने दाबी गरेका छन् । कलिलो उमेरमै कांग्रेसको क्रियाशील सदस्यता लिएर लोकतन्त्रको प्रवद्र्धन र सम्वद्र्धनमा लागेका उनले पार्टीको राजनीतिबाट नागरिक स्वतन्त्रता, मानव अधिकार, विकास निर्माण लगायतका क्षेत्रमा आफ्नो समय खर्चिने बताए ।

नेपाल पत्रकार महासंघको पूर्वकेन्द्रीय सदस्य तथा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य चम्लागाईंले पर्वतारोहणसम्बन्धी नियमावलीमा अपाङ्गता भएका व्यक्तिले सगरमाथा आरोहण गर्न नपाउने गरी बनाएको नियमावली खारेज गर्न माग गर्दै २०७६ फागुन १४ मा सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । 

उक्त रिटलाई तत्कालीन कामु प्रधानन्यायाधीश दीपकराज जोशी, न्यायाधीशहरू ओमप्रकाश मिश्र, चोलेन्द्रशम्शेर जवरा, दीपकराज कार्की, केदारप्रसाद चालिसेको संवैधानिक इजलासले अपाङ्गता भएका व्यक्तिहरूले पनि सगरमाथा आरोहण गर्न पाउनेगरी फैसला गरेको थियो । उक्त फैसलापछि अपाङ्गता भएका व्यक्तिहरुको ठूलो अधिकार स्थापित बनेको थियो । उक्त फैसला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अधिकार प्राप्तीको ऐतिहासिक नजिरका रुपमा स्थापित बनेको थियो । 

उक्त फैसलापछि चम्लागाइसँग जोडिएका समाचारहरु राष्ट्रिय अन्तर्राष्ट्रिय संचारमाध्यमहरुमा प्रमुखताका साथ प्रकाशित भएका थिए । प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको पारिवारिक पृष्ठभूमिमा जन्मिएका चम्लागाईं काठमाडौंमा रहेर इलामका विकाससँग सम्बन्धित महत्वपूर्ण काममा योगदान दिंदै आएका छन् । 

‘लोकतन्त्र, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, मानव अधिकार, अपाङ्गता भएका व्यक्तिहरुको अधिकार स्थापनाका लागि राष्ट्रियस्तरमा खेलेको भूमिका र कांग्रेसका विभिन्न इकाइहरुमा बसेर काम गरेको अनुभवलाई अब सक्रिय कांग्रेसको राजनीतिमार्फत सदुपयोग गर्ने मेरो प्रयास हो । त्यसकै लागि मेरो उम्मेदवारी हो,’ उनले भने । उनी विगत डेढ दशकदेखि कांग्रेसको क्रियाशील सदस्य छन् । साथै कांग्रेसको केन्द्रीय प्रचार विभागको अनलाइन संचारमाध्यम कार्यदलमा बसेर पनि काम गरिसकेका छन् । यही मंसिर १० गते हुने जिल्ला अधिवेशनमा उनलाई जिल्लाभरका क्षेत्रीय प्रतिनिधिले मतदान गर्न पाउनेछन् ।

इलामेली विद्यार्थी मन्चको अध्यक्ष समेत भएर काम गरिसकेका उनी नेपालको चर्चित संचारमाध्यम हाम्राकुरा डटकमका संस्थापक मध्येका एक हुन् । उनी आमसंचार तथा पत्रकारिता विषयका स्नाकोत्तर पनि हुन् । उनी जिल्ला तथा केन्द्रीय स्तरमा रहेर अपाङ्गता भएका व्यक्तिहरुको अधिकारका लागि निरन्तर क्रियाशील छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment