भारतमा ओमिक्रोन भेरियन्ट भेटिएसँगै उच्च सतर्कता अपनाउन डब्लुएचओको आग्रह



काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का दक्षिणपूर्वी एसियाका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंहले भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट भेटिएसँगै उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।

उहाँले विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, “यसले सबै देशलाई निगरानी बढाउन, सतर्क रहन, कुनै पनि आयातलाई तीव्ररूपमा पत्ता लगाउन र भाइरसको थप फैलावटलाई रोक्न कदम चाल्नुपर्ने आवश्यकतामा जोड दिन्छ ।” उहाँका अनुसार भारतमा पहिलो पटक दुई जनामा ओमिक्रोन भेरियन्ट सङ्क्रमित पुष्टि भएको छ । उहाँले ओमिक्रोन भेरियन्ट कोरोनाको अन्य भेरियन्टजस्तै प्रतिकार्य गर्न सकिनेसमेत बताउनुभयो ।

उहाँले सरकारले व्यापक र अनुकूल जनस्वास्थ्य तथा सामाजिक उपाय तथा जनसमुदायबाट रोकथाम र सावधानीका उपायको कडा पालना गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

उहाँले मानिसले आफ्नो नाक र मुख राम्ररी छोप्नुपर्ने र राम्रोसँग ठिक हुने मास्क लगाउनसमेत आग्रह गर्नुभयो । उहाँले खोप लगाएपछि पनि सबै सावधानी अपनाउन जारी राख्न आग्रह गर्नुभएको छ ।

ओमिक्रोन भेरियन्टमा धेरै सङ्ख्यामा उत्परिवर्तन रहेका र तीमध्ये केही चिन्ताजनक रहेको भन्दै उहाँले विश्वभरका अनुसन्धानकर्ताले ओमिक्रोनको सर्नसक्ने गुण, गम्भीरता र प्रतिरक्षा क्षमताबारे राम्रोसँग बुझ्नका लागि अध्ययन गरिरहेको जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment